१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


उपाधि जित्ने दुवै टिमको दाबी


0
Shares

फाइलनको पूर्वसन्ध्यामा शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि आफूले जित्ने दाबी गरे ।

सबै खेलाडीहरु फिट भएको र खेलाडीहरुमा तालमेल मिलेकाले उपाधि जित्नेमा ढुक्क रहेको पीएफए अत्तरीयाका कप्तान गजेन्द्र शाहीले बताए ।

आयोजक फारवेस्ट पशुपति युवा क्लब प्रतियोगिताको अहिलेसम्म भएका तीनओटै संस्करणमा फाइनलमा पुगेको छ । तर, अघिल्लो दुवै सिजनमा उपाधि भिडन्तमा पराजित भएको आयोजकको टिमले योपालि उपाधि उचाल्ने रणनीतिका साथ मैदान उत्रने जनाएको छ ।

सबै खेलाडीहरुले राम्रै खेलिरहेकाले तेस्रोपटकको मौकामा च्याम्पियन बन्ने आयोजक फारवेस्ट पशुपतिका कप्तान नवीन सिंहले बताए ।

प्रतियोगिताको पहिलो संस्करणको बिजेता हसनपुर युवा क्लब भएको थियो । दोस्रो संस्करणमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लब बिजेता बनेको थियो ।

धनगढी रंगशालामा शनिबार दिउँसो हुने उपाधि भिडन्तका लागि तयारी पूरा भएको आयोजकले जनाएको छ ।

शुक्रबार धनगढीमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी सार्वजनिकपछि आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले अब उपाधि भिडन्तको प्रतीक्षामा रहेको बताए ।

प्रतियोगिताको बिजेताले नगद तीन लाख र उपविजेताले नगद डेढ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै, विभिन्न ५ विधामा उत्कृष्ट खेलाडीहरुले जनही १०/१० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।