२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


राष्ट्रपतिद्वारा प्रथम क्रिकेट महोत्सव उद्घाटन


0
Shares

मदन भण्डारी स्पोर्टस् एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने सो महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारले विशेष सांगीतिक प्रस्तुति दिनेछन् ।

महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदको माध्यमबाट स्वस्थ्य नागरिक उत्पादनका साथै अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सीमित स्रोत–साधनका बाबजुद् पनि सरकारले खेलकुद क्षेत्रको विकासलाई विशेष चासो दिएको उल्लेख गर्दै उनले नेपालमा आयोजना हुने आगामी दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको बताए ।

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रचुर सम्भावना भएपनि खेलकुद क्षेत्र राज्यको प्राथमिकतामा पर्न नसकेको बताउँदै प्राकृतिक स्रोत–साधनको अधिकतम् प्रयोग गरी कला–संस्कृतिको सम्बद्र्धन र खेलकुद क्षेत्रलाई अघि बढाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

‘खेलाडी राष्ट्रलाई उचाइमा पुर्‍याउने इमान्दार सिपाही हुन्’ भन्दै उनले खेलाडीबाट राजनीतिक नेतृत्वले अनुशासन सिक्नुपर्ने बताए ।

नेकपा एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले राष्ट्र र नागरिकलाई एकीकृत गराउन खेलकुद क्षेत्रको अहम् भूमिका हुनुपर्नेमा जोड दिए ।

मदन भण्डारी स्पोर्टस् क्लबका अध्यक्ष विनोद श्रेष्ठले महोत्सवकाबारेमा जानकारी गराउँदै खेलकुदको माध्यमबाट अनुशासित र समुन्नत समाज निर्माणमा योगदान पुगोस् भन्ने हेतुले महोत्सव आयोजना गरिएको बताए ।

महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’कारुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता हुनेछ भने ‘ट्यालेन्ट हन्ट’ प्रतियोगितामा उपत्यकामा रहेका विभिन्न स्कुल, कलेज र युवा खेलाडीबाट करिब ५०० जनको सहभागिता रहनेछ ।

यीमध्ये उत्कृष्ट १० जनालाई एक वर्षसम्म विभिन्न एकेडेमीमा निःशुल्क प्रशिक्षण र क्रिकेट सामग्री पनि वितरण गरिने मदन भण्डारी स्पोर्टस् क्लब क्रिकेट विभागका महासचिव सुमनराज कार्कीले जानकारी दिए ।

महोत्सवको दोस्रो दिन क्रिकेटको ‘सम्भावना र चुनौती’ विषयमा सेमिनार आयोजना तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति रहनेछ ।

सो अवसरमा यसै वर्षबाट सुरु गरिएको मदन भण्डारी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद रु २५ हजारसहित सम्मानित गरिएको थियो ।

त्यस्तै, क्रिकेट महोत्सवलाई सहयोग गर्ने सुनिल भण्डारीलाई पनि सम्मान गरिएको छ । दुवै सम्मान राष्ट्रपति भण्डारीले प्रदान गरेकी थिइन् । रासस