२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


हत्याका दोषी गुरुङलाई भारतबाट नेपाल ल्याइयो


0
Shares

वि.सं. २०५८ मा ठमेलको एक डिस्कोमा सुवर्ण गुरुङलाई धारिलो हतियारले आक्रमण गरी हत्या गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६४ साल पुस १ गते अभियुक्त गुरुङलाई जन्मकैद सजायको फैसला गरेको थियो ।

घटनापछि फरार रहेको गुरुङलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले गत मंसिर १२ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।

गुरुङ गत मंसिर २२ गते भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक हुँदै मलेसिया जानेक्रममा भारतीय प्रहरीले पक्राउ गरी नयाँदिल्लीस्थित पटियाला अदालतमा उपस्थित गराएको थियो ।

सो अदालतको फैसलाअनुरुप भारत सरकार, विदेश मन्त्रालयले गुरुङलाई नेपाल प्रहरीलाई बुझाएकाले भारतबाट नेपाल प्रहरीले उनलाई शुक्रबार नेपाल ल्याएको प्रहरी प्रवक्ता नायब महानिरीक्षक मनोज न्यौपानले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाइने प्रहरीले जनाएको छ । रासस