
गत बिहीबार अभियुक्त रानाले भीमबस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।
वृद्धाको शव शंकास्पद अवस्थामा लालझाडी राष्ट्रिय वनमा भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कन्चनपुरबाट प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकायाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
झन्डै एक साता लामो अनुसन्धानपछि प्रहरी निरीक्षक रोकाया नेतृत्वको टोलीले स्थानीय डोकेबजारनजिक कुटिया (धर्मशाला)मा आश्रय लिँदै आएका अभियुक्त रानाको यस अपराधामा हात रहेको पत्ता लगाएको हो ।
‘अनुसन्धान गर्दै जाँदा सुरुमा अभियुक्तले निकै बहानाबाजी गरे’–प्रहरी निरीक्षक रोकायाले भने–‘अनुसन्धान थालेको दुई दिनपछि हत्या गरेको स्वीकार गरे ।’
प्रहरी हिरासतमा रहेका अभियुक्त रानाले मादकपदार्थ सेवन गरेर जंगलको बाटो हुँदै कुटियातर्फ फर्कंदै गर्दा बाटोमा वृद्धा धामीको हँसिया प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् ।
प्रहरीले अभियुक्त रानालाई थप अनुसन्धानका लागि बुधबार जिल्ला प्रहरी कार्यालय कन्चनपुर पुर्याएको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्त रानालाई कारबाही अगाडि बढाइने प्रहरीको भनाइ छ ।
अभियुक्त रानाले गत साउन २९ गते पुनर्वास–११ भीमबस्तीस्थित सिद्धदेवी मन्दिर परिसरमा रहेको धर्मशालामा बस्दै आएका धर्मा मल्ल (माता) लाई पनि हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।
मल्ललाई हत्या गरेको झन्डै सात महिनापछि उक्त घटनाको पनि रहस्य खुलेको हो ।
धर्मशालामा आश्रय लिँदै आएका मल्ललाई उनले धर्मशालामा पस्न नदिएको झोंकमा हत्या गरेकोसमेत प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
कन्चनपुरको बेलौरी नगरपालिकाको रिचाह घर भएका अभियुक्त राना डोकेबजारको कुटियामा बस्दै आएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्