
मिटरमा नजाने, उठेकोभन्दा बढी रकम असुल्ने गरेको गुनासो आएपछि कारबाहीलाई तीव्रता दिइएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र मिटरमा चल्न नमान्ने ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले धमाधम कारबाही गर्न थालेको छ ।
उपत्यकामा सीमित मात्रामा ट्याक्सी रहेकाले भनेको ठाउँमा मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही गर्न थालिएको महाशाखाले जनाएको छ ।
यसअघि, दैनिक १५ देखि २० ओटा ट्याक्सी कारबाहीमा पर्ने गरेको भएपनि ट्राफिक प्रहरीको सक्रियतापछि हाल दैनिक ५० देखि ७० ओटासम्म ट्याक्सी कारबाहीमा पर्न थालेको महाशाखाका प्रवक्ता मुकुन्द मरासिनीले जानकारी दिए ।
ट्याक्सीमा ठगी भएको गुनासोसमेत बढ्न थालेको छ । मिटरमा चल्न नमान्ने, बढी रकम असुल गर्नेलगायतका गुनासो लिएर उपभोक्ता आउने गरेका छन् ।
ट्याक्सीमा ठगिएको गुनासो आएपछि सरकारले मिटरमा विद्युतीय बिल प्रणाली लागू गरेको छ । तरपनि सो प्रणाली पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको छैन ।
हाल उपत्यकामा १० हजारभन्दा बढी ट्याक्सी सन्चालनमा छन् । उपभोक्ता ठग्ने र मिटरमा जान नमान्ने ट्याक्सीकाबारेमा हटलाइन १०३ मा खबरगर्नसमेत महाशाखाले आग्रह गरेको छ ।
मिटरमा जान नमान्ने ट्याक्सीलाई महाशाखाले तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवानासमेत गर्ने गरेको छ ।
ट्याक्सीले ठगी गरेकोबारे अनुगमन गर्न महाशाखाले दैनिक ८० जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ ।
महाशाखाले चालू आर्थिक वर्षमा मिटरमा चल्न नमान्ने झन्डै चार हजार ट्याक्सीलाई कारबाही गरिसकेको जनाएको छ ।
यो समस्या काठमाडौंमामात्र होइन, पर्यटकीय नगरी पोखरामा पनि देखिएको छ । पोखराका ट्याक्सी चालकले त झन् मिटरको प्रयोग नै नगरेको गुनासो उपभोक्ताको छ ।
पोखरा घुम्न पुग्ने पर्यटकले ट्याक्सी चालकबाट पटक–पटक ठगिएको गुनासो गरिरहेका छन् । तर, सम्बन्धित निकायले त्यस्ता ट्याक्सीलाई कारबाही गर्न नसकेको पीडितहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्