१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चिनीमा यूरिया मल मिसावट गर्ने व्यवसायीविरुद्ध मुद्दा दर्ता


0
Shares

युवराज रोइला/
खोटाङ, वैशाख १६ । युरिया मल मिसिएको चिनी बिक्री गरेको उजुरी परेपछि खोटाङको दिक्तेलबजारस्थित पाण्डे भेराइटिजको जानकी जनरल अर्डर एण्ड सप्लायर्सका सञ्चालक मकेश्वर पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ ।

रासायनिक पदार्थ मिसावट भएको चिनी बिक्री गरेको भन्दै उपभोक्ताको गुनासो आएपछि सरकारी वकिलमार्फत प्रहरीले व्यवसायी पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो ।

पाण्डे भेराइटिजविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध नियन्त्रण ऐन अनुसारको मुद्दा दर्ता भएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । मुद्दा दर्तासँगै व्यवसायी पाण्डेसँग २ लाख रुपैयाँ धरौटी मागिएको प्रशासनले जनाएको छ ।

एक ग्राहकले गत चैत ३० गते खरिद गरेको चिनीको प्याकेटमा युरिया मिसिएको मौखिक जानकारी दिएपछि जिल्ला प्रशासन कार्यालयले सोही दिन राति ९ बजे पाण्डे भेराइटिजको पसल तथा गोदाम शिलबन्दी गरेको थियो । शिलबन्दी गरिएको पसल तथा गोदामबाट प्रहरीले वैशाख ११ गते ल्याव टेष्टका लागि चिनीको नमूना संकलन गरेको छ ।

खाद्य पदार्थमा अखाद्यवस्तु मिसिएको पाइएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा समेत उपभोक्ताको उजुरी परेको छ ।