२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


३३ किलो सुन तस्करी र हत्या प्रकरण: ६२ जनाविरुद्ध आज मुद्दा दायर गरिंदै


0
Shares

मोरङ, बैशाख १९ । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा संलग्न रहेको आशंकामा पक्राउ परेका २८ जनासहित ६२ जना विरुद्ध आज मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिने भएको छ ।

प्रहरीले छानबिन सकाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले यो प्रकरणमा संलग्न भनिएका ६२ जना विरुद्ध आज मुद्दा दर्ताको प्रक्रिया अगाडि बढाएको हो ।

तस्करीको ३३ किलो सुन गायब भएको र यसमा संलग्न भनिएका सनम शाक्यको यातनापछि हत्या गरिएको विषयमा प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा गत आइतबार प्रतिवेदन बुझाएको थियो ।

सोमवार र मंगलबार सार्वजनिक विदा परेकाले आज मुद्दा दर्ताको प्रक्रिया सुरु हुन लागेको हो ।

सुनकाण्डमा पूर्व डिआईजी गाविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय रावत र प्रजित केसी तथा सई बालकृष्ण सञ्जेलसहित २८ जना पक्राउ परेका छन् ।

सुन तस्करी र शाक्यको हत्याका सम्बन्धमा मोरङ प्रहरीले अनुसन्धान गरेको थियो । मुख्य अभियुक्त गोरे भनिने चूणामणि उप्रेतीसहित ३४ जना फरार रहेको प्रहरीको दाबी छ ।

घटनाको अनुसन्धानका लागि प्रहरीले पाएको ६० दिनको समय हिजो सकिएको थियो ।

यसैबीच घटनाको शुरुदेखि नै विवादमा तानिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी हिजो जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका छन् ।

गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको घटना छानबिन समितिले लोहनीलाई झिकाउन मोरङ प्रहरीलाई निर्देशन दिएपछि मोरङ प्रहरीले उपस्थित हुन लोहनीलाई पत्र पठाएको थियो ।

छानबिन समितिले लोहनीसँग काठमाडौंमा बयानसमेत लिइसकेको छ ।

सोही प्रकरणमा फरार रहेका अन्य ३४ जनाको भने प्रहरी खोजी तिब्र पारेको छ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका एसएसपी श्याम खत्री विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

यसअघि पनि सुन काण्डमा मुछिएर अदालतबाट सफाई पाएका खत्री केही समयअघि प्रहरी प्रधान कार्यालयमा हाजिर भए पनि ३३ किलो सुन काण्डको पर्दाफास भएपछि फरार छन् ।

उनीबिरुद्ध प्रहरीले ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो ।