
बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक २९ । सरस्वती मावि गेटा, कैलालीले निस्ट स्कुल भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ ।
धनगढीमा जारी तेस्रो निस्ट लिटल फ्लावर प्रिमियर लिग टी–२० क्रिकेटअन्तर्गत् बिहीबार भएको पहिलो खेलमा सरस्वती विजयी भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको निस्ट स्कुलले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन जोडेको थियो ।
निस्टका लागि ओपनर सोहन यादवले सर्वाधिक २७, आशिष कर्णले १५ र अमृत थापाले १२ रनको योगदान दिए ।
बलिङतर्फ सरस्वती स्कुलका गोविन्द चन्द र अशोक चन्दले समान ३/३ विकेट लिए । आयुब चन्दले पनि २ विकेट झारे ।
जवाफमा सरस्वतीले १६.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
सरस्वतीको जितमा कप्तान आयुब चन्दले अविजित ४१, अरुण महराले २४, हृदय बिठारीले १८ तथा आशिष पनेरुले अविजित १० रनको योगदान दिए ।
बलिङतर्फ निस्टका अमृत थापाले २ तथा सोहन यादव र अभिषेक पुर्वेले समान १/१ विकेट लिए ।
योसँगै लगातार दोस्रो हार व्यहोरेको निस्ट प्रतियोगिताबाट बाहिरिएको छ ।
बिहीबारै भएको दोस्रो खेलमा लिटिल बुद्ध एकेडेमी कन्चनपुरले एबीसी आवासीय मावि नेपालगन्जलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्यो ।
लिटिल बुद्धका कप्तान एवं नेपाली यु–१९ टोलीका सदस्य सन्दीप जोराले ब्याटिङ र बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेपछि एबीसी फराकिलो अन्तरले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्धले पूरा २० ओभर खेल्दै २०१ रन बनाएको थियो ।
लिटिल बुद्धका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ८३, सुशील खड्काले ५४, कमलसिंह ऐरीले अविजित ३२ रनको योगदान दिए ।
बलिङतर्फ एबीसीका लागि अजय सहानी, विशाल केसी र शुभम बमले समान १/१ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको एबीसी स्कुल १४.४ ओभरमा १०५ रनमा समेटियो ।
एबीसीलाई रोक्नेक्रममा लिटिल बुद्धका हेमन्त कार्कीले ४, रोचक ऐरले २, पारस क्षेत्री र कप्तान जोराले समान १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्