
बिराज रोस्यारा
कैलाली, कात्तिक २१ । जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खेलिरहेको अवस्थामा धनगढीबाट २० जनालाई पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका–१ र ३ बाट पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट पक्राउ परेका ९ जनाबाट १ लाख २९ हजार १३५ र वडा नम्बर ३ बाट पक्राउ परेका ११ जनाबाट १ लाख ४५ हजार ७१० रुपयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए । उनका अनुसार बरामद भएको २ लाख ७४ हजार ८४५ रुपैयाँसहित २० जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
उनिहरुबिरुद्ध जुवा कसुरअन्तर्गत कारबाही हुने जनाईएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट २ जनालाई लागु औषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ बस्ने ३० वर्षीय बिसन लामा र धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ईन्द्रबहादुर गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । उनिहरुको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ ।
पक्राउ गरिएका दुबै जनालाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक वलीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्