
एजेन्सी, असार ५ । अमेरिकाले भारत र चीन सीमावर्ती क्षेत्र लद्दाखमा भएको भिडन्तप्रति निकै संयतापूर्वक पहिलो पटक प्रतिक्रिया जनाएको छ ।
लद्दाखको गलवानमा भारत र चीनका सेनाबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएको तीन दिनपछि अमेरिकाले समवेदना दिएको हो ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका हुन् ।
माइक पोम्पियोले भनेका छन्, ‘चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरुप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ । शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनको स्मरण गर्दछौँ ।’
गलवानमा भिडन्त हुँदा २० भारतीय सैनिक मारिएको भए पनि चीनतर्फको क्षतिबारे उसले केही बताएको छैन । भारतीय सञ्चारमाध्यमहरुले भने ४० भन्दा बढी चिनियाँ सैनिक मारिएको एकोहोरो दाबी गरिरहेका छन् ।
यता भारत र चीनबीच चरम तनाव हुँदा अमेरिका भने चीनसँगको आफ्नो सम्बन्ध सुधार्न तल्लिन रहेको देखिएको छ । बुधबार अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका शीर्ष नेता यांग जिचीसँग सात घण्टा बैठक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्