Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


१० वर्षदेखि अलपत्र उदयपुर–भोजपुर जोड्ने सुनकोशी पुल, स्थानीयलाई सास्ती


0
Shares

माधव पोखरेल, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानीटार र भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने सुनकोशी नदीमाथिको मोटरेबल पक्की पुल निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन।

२०७४ सालमा निर्माण सुरु गरिएको पुल निर्माण व्यवसायीको लापरबाहीका कारण आधा काममै अलपत्र अवस्थामा छ। करिब २२ करोड ३५ लाख रुपैयाँ लागतमा निर्माणाधीन पुल नबन्दा वर्षायाममा उक्त क्षेत्रको यातायात सम्पर्क विच्छेद हुने गरेको छ भने हिउँदमा समेत नदी वारपार गर्न फेरीको भर पर्नुपर्ने अवस्था छ।

वर्षायाममा झोलुंगे पुलबाट भरियामार्फत चामल, खाद्यान्न, निर्माण सामग्री तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। उदयपुरको बेल्टार बजार हुँदै भोजपुरको आमचोकसहित दक्षिणी क्षेत्र जोड्ने सडक निर्माण भए पनि बीचमा सुनकोशी नदीमा पक्की पुल नहुँदा सडकको उपयोग प्रभावित भएको छ।

रानीटारका स्थानीय निरबहादुर राईका अनुसार पुल बने भोजपुरका करिब २० हजार नागरिकलाई उदयपुर हुँदै धरान, इटहरी र विराटनगर पुग्न सहज हुनेछ। हाल उदयपुरबाट भोजपुरतर्फ दाल, चामल, तरकारी, फलफूललगायत दैनिक उपभोग्य सामग्री जाने गरेका छन् भने भोजपुरबाट काठ तथा अन्य पहाडी उत्पादन उदयपुरतर्फ ल्याउने गरिएको छ।

‘पक्की पुल निर्माण सुरु गरेको १० वर्षमा पनि बनेन। हिउँदमा फेरी लगाएर सामान तार्नुपर्छ, बर्खामा भरियालाई बोकाएर ढुवानी गर्नुपर्ने बाध्यता छ,’ राईले भन्नुभयो।

पुल नहुँदा बिरामी तथा आकस्मिक अवस्थाका मानिस बढी समस्यामा पर्ने स्थानीयको भनाइ छ। गत हिउँदमा सुनसरीको इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै गरेको यात्रुवाहक बस फेरीमार्फत सुनकोशी तार्ने क्रममा नदीमा डुबेको थियो। बसमा यात्रु नभएकाले मानवीय क्षति भने भएन।

चौदण्डीगढी नगरपालिका–१ का वडाध्यक्ष सीताराम राईले पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयले वर्षौँदेखि समस्या भोग्दै आएको बताउनुभयो। उहाँका अनुसार यो पुल उदयपुर र भोजपुरका करिब ३० हजार नागरिकलाई ठूला सहरसँग जोड्ने महत्वपूर्ण नाका हो।

मोटरेबल पक्की पुल निर्माणका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौमा रानीटारमा शिलान्यास गर्नुभएको थियो। सोही अवसरमा उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङ र खोटाङको बराहपोखरी गाउँपालिका–२ जोड्ने सुनकोशी पुलको पनि शिलान्यास गरिएको थियो।