
काठमाडौं, कात्तिक १६ । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन पुग्दासमेत छानविन भने शून्यमै छ ।
प्रहरीले अपराधीसम्म पुग्ने कुनै सूत्र पत्ता लगाउन सकेको छैन । सुरुवाती अनुसन्धानमै त्रुटी भएका कारण अनुसन्धानले सही दिशा लिन नसकेको प्रष्ट भएको छ । अहिले भइरहेको अनुसन्धान पनि सन्तोषजनक नभएकाले हत्यारा पत्ता लाग्नेमा शंका रहेको पीडित परिवारको भनाइ छ ।
गत साउन १० गते साथीको घर पढ्न गएकी निर्मला दोस्रो दिन उखुबारीमा मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानमा संवेदनशील नरहेको प्रहरीले कुनै ठोस प्रमाणविना नै दिलीपसिंह विष्टलाई मुख्य अपराधीका रूपमा सार्वजनिक ग¥यो । घटनामा दिलीप विष्टको संलग्नता नरहेको पुष्टि डीएनए परीक्षणबाट भएपछि उनलाई रिहा गरिएको थियो ।
अपराधी पत्ता लगाउन झण्डै आधा दर्जन अनुसन्धान टोली सक्रिय रहे पनि उनीहरुले कुनै ठोस प्रमाण जुटाउन सकेनन् । दूर्भाग्यको कुरा, अनुसन्धान टोली अपराधी पक्रनुभन्दा पनि प्रहरीकै कमजोरी खोतल्नमा मात्र व्यस्तजस्तो देखियो ।
परिवार र स्थानीयको आक्रोश अनुसन्धानको क्रममा खटिएका प्रहरीले लापरबाही गरे भन्नेमा थियो । सरकारी छानविनले पनि त्यही देखायो । प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट सेवाबाट बर्खास्त भए ।
पीडित र स्थानीय जनताले औंला सोझ्याउदै आएका तत्कालीन एसपी विष्ट, उनका छोरासमेत गरी ३ जनाको डीएनए परीक्षण भयो । डीएनए परीक्षणको नतिजा नेगेटिभ आयो । अहिले एआईजी धिरु बस्नेत नेतृत्वको उच्चस्तरीय केन्द्रीय प्रहरी टोली अनुसन्धानमा खटिएको छ ।
बस्नेत नेतृत्वको टोलीले छानविनमा भइरहेको प्रगतीबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन । स्थानीय प्रहरीले पनि अनुसन्धानलाई जारी राखेको छ । स्थानीय प्रहरीले शंकास्पद व्यक्तिहरू आफुहरुको निगरानीमा रहेको र घटना भएको समयमा वरपर रहेकाहरुको रेकर्डसमेत हेरिरहेको बताएको छ ।
मोबाइल प्रयोगकर्तामध्ये महिला, केटाकेटी छुट्याएर सम्भावित शंकास्पद फोनहरूको रेकर्डको पनि छानविन गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि शंकास्पद ४ जनाको डीएनए परीक्षण गर्न नमूना पठााएको छ । उनीहरुको नाम गोप्य राखिएको छ ।
पछिल्लो समय डीएनए परीक्षणबाट मात्रै अपराधी पत्ता लगाउन सकिने प्रहरीको निष्कर्षले अनुसन्धान जटिल मोडमा पुगेको आभास हुन्छ । शंका लागेजतिका व्यक्तिको डीएनए परीक्षण गर्नु प्रहरीका लागि चुनौतीपूर्ण छ । यद्यपि प्रहरीले कुनै पनि हालतमा अपराधीलाई पक्राउ गररै छाड्ने प्रतिबद्धता भने जनाइरहेको छ ।
प्रहरीले अपराधी पत्ता लगाई छाड्ने आश्वासन दिए पनि पीडित परिवार भने आश्वस्त हुन सकेको छैन । प्रहरीले नै प्रमाण भेटाएकाले न्याय पाइँदैन कि भन्ने शंका उनीहरुको मनमा पलाउँदै गएको छ । फेरि पनि पीडित र स्थानीयले न्यायका लागि आफ्नो आवाज बुलन्द पारिरहेका छन् । अपराधी पक्राउ नपरेसम्म निर्मला हत्याकाण्ड प्रहरीका लागि चुनौती बनिरहने छ ।
प्रतिक्रिया दिनुहोस्