
काठमाडौं, कात्तिक १४ । महानगरीय अपराध महाशाखाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीनैजनालाई जेल चलान गरेको छ ।
वि.सं. २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या गरेको आरोपमा महाशाखाको टोलीले यही कात्तिक १२ गते पक्राउ गरेका झापाका ‘लोप्साङ’ भनिने सोम तामाङ, काठमाडौंका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई बुधबार डिल्लीबजार कारागार चलान गरेको हो ।
महाशाखाका प्रमुख धीरजप्रताप सिंहले पक्राउ परेका तीनैजनालाई काठमाडौं जिल्ला अदालतमा पेस गरेकामा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जानकारी दिए ।
सोमबार महाशाखाको टोलीले झापाको सीमावर्ती क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्राउ गरेको थियो ।
उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेका थिए । उनीहरुले दावा लामामाथि २०७३ चैतमा गोली प्रहार गरेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्