
बिराज रोस्यारा (इमेज)
कैलाली, कात्तिक १४ । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियाबाट भन्सार छलेर ल्याइँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
मंगलबार राति ‘चोर बाटो’ हुँदै भन्सार छलेर ल्याइँदै गरेको करिब तीन लाख रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
हसुलियाबाट साइकलमा नेपाल भित्र्याइँदै गरेको अवस्थामा पटाका, फेन्सी तथा किरानाका सामग्री बरामद गरेको सशस्त्र प्रहरी गण नम्बर ३४ कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।
चाडबाडको मौका छोपेर हुनसक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको उनले बताए ।
यस्तै, मंगलबार बेलुका सोही ठाउँबाट सशस्त्र प्रहरी गण नम्बर ५३ बाट खटिएको टोलीले पनि सामान बरामद गरेको थियो ।
भन्सार छलेर ल्याइँदै गरेको अवस्थामा गाडीका पाटपुर्जा, हार्डवयेरका सामान र तिहारलाई लक्षित गर्दै ल्याइएको माला, अबिरलगायतका एक लाख मूल्य बराबरका सामान बरामद गरिएको जनाइएको छ ।
कैलालीमा भारतसितको खुला सिमानाको फाइदा उठाउँदै चोर नाकाबाट अवैधरुपमा विभिन्न सामग्री भित्रिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्