
कपिलवस्तु, कार्तिक १२ । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकट्टामा बञ्चरो प्रहार गरी एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
आइतबार राति ११ बजे आपसी झगडा हुँदा ४० वर्षीय बसन्त परियारले अफ्नै श्रीमती ३५ वर्षीय सुमित्रा परियारको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
मजदुरी गर्दै आएका परियारले मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा गरेको बताइन्छ । छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।
मृतकको टाउको र हातमा चोट देखिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताएका छन् । हत्यारा फरार रहेको र खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
शव पोस्टमार्टमको लागि शिवराज अस्पताल बहादुरगंज पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
परियारका २ छोरा र १ छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्