११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


अपहरण गरी रकम लुट्न खोज्ने दुईजना पक्राउ


0
Shares

बासुदेव वर्मा (इमेज)

कपिलवस्तु, असोज १६ । एक वृद्धलाई अपहरण गरी रकम लुट्न खोजेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट रकम झिकेर फर्कंदै गरेका कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर–९, भलवाडका ७१ वर्षीय कृष्णबहादुर थापालाई अपहरण गरेको आरोपमा दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–४, चनईका ४५ वर्षीय अमिन साह र उनका सहयोगी भनिएका सोही स्थानका २६ वर्षीय अब्दुल मुसलमान रहेका छन् ।

छोरा ‘अमर प्रहरी’ भएकाले पेन्सनको सुविधा पाउँदै आएका थापाले बैंकबाट २७ हजार रूपैयाँ झिकेर बाहिर निस्किएपछि आरोपी दुवैले गन्तव्यबारे सोधेका थिए ।

थापाले आफू भलवाड फर्कन लागेको बताएपछि जितपुरसम्म पुर्‍याइदिने भन्दै थापालाई अमिनले फकाएका थिए ।

थापाले मोटरसाइकलमा जितपुर नजाने भनेपछि तौलिहवा बसपार्कसम्म पुर्‍याइदिने भन्दै अमिनले थापालाई आफ्नो लु१२प ५०५४ नम्बरको मोटरसाइकलमा बसालेका थिए ।

बसपार्क पुर्‍याउनुपर्नेमा चोकबजार हुँदै गौढीचोक पुर्‍याएपछि थापा अत्तालिए ।

मोटरसाइकलमा सवार वृद्ध अत्तालिएको देखेपछि गौढीचोकमा डयुटीमा खटिएका प्रहरीले दिएको सूचनाका आधारमा सादा पोसाकका प्रहरीले दुई किलोमिटरको दूरीमा रहेको कपिलवस्तु नगरपालिका–३, महितासम्म सो मोटरसाइकलको पिछा गरेका थिए ।

प्रहरीले महितामा मोटरसाइकल रोकेर सोधपुछ गर्दा वृद्ध थापालाई अमिनले अपहरण गर्न खोजेको खुल्न आएको प्रहरीले जनाएको छ ।

त्यसलगत्तै प्रहरीले मोटरसाइकलसहित अपहरणमा संलग्न उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सोमबार अपराह्न पक्राउ परेका आरोपी दुवैजनाविरुद्ध थप अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।