सविना अछामे, खोटाङ । नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रमा योगदान पुर्याउनुभएका कवि तथा गीतकार टीका चाम्लिङको निधन भएको छ । तीन वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएका ५३ वर्षीय चाम्लिङको शनिबार राति ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो ।
२०३० माघ ४ गते जन्मिनुभएका चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । उहाँका गीत, कविता तथा गीतिकाव्यका विभिन्न कृति प्रकाशित छन् ।
उहाँका प्रकाशित कृतिमा ‘सधैँभरि गीति अडियो’ (२०५८), ‘राखौँ सम्झना’ (२०५९), ‘सोमबारे हाटैमा’, ‘सपनाको रङ’ (२०६०), ‘समयको रङ’ (२०६४), ‘जूनको बस्ती’ (२०६८), ‘मुन्दुम र मालिङ्गो’ (२०७१) तथा ‘बागी कविता’ (२०८०) लगायत छन् ।
चाम्लिङले आफ्नो साहित्यिक तथा सांगीतिक योगदानबापत विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । उहाँले २०६१ र २०७५ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी गीतसङ्गीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको उपाधि प्राप्त गर्नुभएको थियो ।
त्यस्तै, २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज बेलायतको खोटाङ प्रतिभा पुरस्कार र २०७८ सालमा कोशी प्रदेश सरकारको भाषा, साहित्य, कला तथा संस्कृति सम्मानलगायत दर्जनौँ पुरस्कार प्राप्त गर्नुभएको थियो ।
उहाँको पार्थिव शरीरमा संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गरेपछि जन्मथलो लगेर अन्त्येष्टि गरिने बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्