Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


नेपाल–जापान महोत्सव २०२६ को तयारी पूरा


0
Shares

काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

आगामी मंसिर ६ गते आइतबार काठमाडौंको दरबारमार्गमा महोत्सव आयोजना हुने आयोजक समितिले जनाएको छ ।

महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहकार्यमा कार्यक्रम हुन लागेको हो । महोत्सवले दुई देशबीच सात दशकदेखि कायम मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगो (GODIEGO) को विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको यो समूह ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो ।

त्यस्तै, जापानकी चर्चित हिपहप कलाकार मम्मी–डी (Mummy-D) सहित कववेभ, कुटुम्ब र सबिन राई एन्ड द फाराहोका नेपाली ब्यान्डहरूको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

महोत्सव सांस्कृतिक कार्यक्रमसँगै मानवीय सहयोगको सन्देश प्रवाह गर्ने अवसरसमेत बन्नेछ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि गोडाइगोले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको रकममध्ये करिब ३० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएको छ ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ । महोत्सवले दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउने आयोजकको विश्वास छ ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतसँगै विभिन्न सांस्कृतिक गतिविधि पनि सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ ।