Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


दूधको मूल्य बढाउन सरकारलाई चितवनका किसानको माग


0
Shares

समीर चापागाईं, चितवन । चितवनका दुग्ध किसानले कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ७५ रुपैयाँ निर्धारण गर्न सरकारसँग माग गरेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पत्रकार सम्मेलन गर्दै किसानले उत्पादन गरेको दूधको उचित मूल्य नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

संघका अध्यक्ष किशोर बगालेका अनुसार चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरलगायत जिल्लामा आपूर्ति हुने गरेको छ ।

चितवन २०७६ साल जेठ २९ गते नै दुग्ध उत्पादनमा आत्मनिर्भर जिल्ला घोषणा भएको थियो । संघमा ९९६ वटा सहकारी संस्था र करिब ८० हजार किसान आबद्ध रहेको अध्यक्ष बगालेले जानकारी दिए ।

पछिल्लो समय पशु आहार, खाद्यान्न, स्वास्थ्य, शिक्षा तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा दूध उत्पादनको लागतसमेत वृद्धि भएको किसानको गुनासो छ । हाल एक लिटर दूध उत्पादन गर्न ५५ देखि ६० रुपैयाँसम्म खर्च हुने अवस्था रहेको भन्दै संघले लागतअनुसार मूल्य पाउनुपर्ने माग गरेको हो ।

संघले किसानका माग सात दिनभित्र सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिएको छ । माग सुनुवाइ नभए सडक आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

माग बेवास्ता गरिए सडकमा दूध पोख्ने, गोबर फाल्ने तथा चक्काजामलगायतका विरोधका कार्यक्रम गर्ने संघले जनाएको छ ।

Skip This