काठमाडौं । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताउनुभयो ।
अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिष्पर्धा रहेपनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उहाँले भूराजनीतिक प्रतिष्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताउनुभयो । उहाँकाअनुसार अमेरिका र चीनबीच करिव ६०० अर्ब अमेरिकी डलरको व्यापार भइरहेको छ । भूराजनीतिले उनीहरूलाई एकअर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उहाँले बताउनुभयो । उहाँले नेपाल भारतको सम्बन्ध जनस्तरको रहेको उल्लेख गर्दै यसलाई प्रभावित पार्न नहुने उहाँको भनाई छ ।
नेपाललाई भारतले क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको उहाँले बताउनुभयो । चीन काठमाडौंसम्म बढ्दो पहुँचप्रति भारतको आफ्नै चासो र चिन्ता रहेको पनि उहाँको भनाई छ । यद्यपि यस्ता भूराजनीतिक चासोका कारण नेपाल–भारत सम्बन्धलाई सीमित गर्न नहुनेमा उहाँले जोड दिनुभयो । दुवै देशका नागरिकले राज्यकेन्द्रित दृष्टिकोणभन्दा माथि उठेर साझा क्षेत्रीय हित, आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।
उहाँले दक्षिण एशियाका देशबीच राजनीतिक स्वार्थभन्दा माथि नागरिकबीचको विश्वास, संवाद र सहकार्य रहेको उल्लेख गर्नुभयो । उहाँले क्षेत्रीय सम्बन्धलाई नागरिक समाजको तहबाट थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । दक्षिण एशियाली मुलुकहरूले राज्यकेन्द्रित सोच र राष्ट्रवादी भाष्यबाट माथि उठेर नागरिकस्तरमा आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्ने उहाँको भनाई छ ।
सरकारले उठाउने राजनीतिक तथा ऐतिहासिक मुद्दाहरूलाई नागरिकले अत्यधिक महत्व दिने प्रवृत्ति त्याग्नुपर्नेमा उहाँले जोड दिनुभयो । पुराना विवादलाई पुनः उठाएर छिमेकी मुलुकविरुद्ध जनमत निर्माण गर्ने प्रवृत्ति क्षेत्रीय सहकार्यका लागि बाधक रहेको उहाँको भनाई छ ।
भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले समय–समयमा पुराना विवादलाई बाहिर ल्याएर जनमत प्रभावित पार्ने गरेको उहाँले बताउनुभयो । यस्तो प्रवृत्तिले क्षेत्रीय सम्बन्धमा अविश्वास र दूरी बढाउने उहाँको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्