काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात गर्नुपर्ने बताउनुभएको छ ।
मंगलवार गणेशमान सिंहको ११३ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको शान्तिबाटिकास्थित उहाँको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले लोकतन्त्र, राष्ट्रियता र पार्टीको सिद्धान्तमाथि चुनौती उत्पन्न हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले २०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजाले प्रधानमन्त्री बन्न प्रश्ताव गर्दा गणेशमान सिंहले आफू प्रधानमन्त्री नबनी कृष्णप्रसाद भट्टराईलाई सिफारिस गरेको प्रसङ्ग स्मरण गर्नुभयो । उक्त निर्णयले प्रधानमन्त्री जनताको रोजाइबाट बन्नुपर्छ भन्ने राजनीतिक सन्देश दिएको उहाँको भनाइ छ ।
नेता सिंहले गणेशमान सिंहले लोकतन्त्रलाई बलियो बनाउन आर्थिक क्रान्ति आवश्यक रहेको बताउँदै बेरोजगारी अन्त्य, रोजगारी सिर्जना र जनताको जीवनस्तर सुधारमा जोड दिएको स्मरण गर्नुभयो । लोकतन्त्र राजनीतिक अधिकारमा मात्र सीमित नरही नागरिकको आर्थिक जीवन परिवर्तन गर्ने माध्यम बन्नुपर्ने उहाँको भनाइ छ ।
कांग्रेसभित्रको विशेष महाधिवेशनसम्बन्धी विवादबारे बोल्दै उहाँले पार्टीको विधान, नियम र परम्पराविपरीत केही व्यक्ति भेला हुँदैमा त्यसलाई विशेष महाधिवेशन भन्न नमिल्ने जिकिर गर्नुभयो ।
पार्टी सभापति र केन्द्रीय कार्यसमितिको सहमतिमा मात्रै विशेष महाधिवेशन हुने कांग्रेसको परम्परा रहेको उल्लेख गर्दै उहाँले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति र केन्द्रीय कार्यसमितिलाई भङ्ग गर्ने अधिकार त्यस्तो भेलालाई नरहेको बताउनुभयो।
उहाँले बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले देखाएको सिद्धान्त र आदर्शको बाटोमा कांग्रेस अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्णशमशेरजस्ता अग्रज नेताहरूले सिद्धान्त, आदर्श, राष्ट्रियता र लोकतन्त्रका पक्षमा अडिग रहँदै अनेकौँ दुःख, जेलजीवन र सङ्घर्ष व्यहोर्नुभयो । आज राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती देखिएका बेला गणेशमान सिंहलगायत अग्रज नेताहरूले देखाउनुभएको त्याग, निष्ठा र आदर्शको बाटोमा अघि बढ्नु आवश्यक छ ।’
राष्ट्रियता र लोकतन्त्रमाथि चुनौती उत्पन्न भइरहेका बेला गणेशमान सिंहको राजनीतिक विचार र त्यागलाई आत्मसात् गर्नु अहिलेको आवश्यकता भएको नेता सिंहको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्