ओखलढुंगा । नेपाली कांग्रेस देउवा पक्षले १५औँ नियमित महाधिवेशन अन्तर्गत ओखलढुंगामा जिल्ला अधिवेशन यही कात्तिक २१ गते शनिबार गर्ने तयारी गरेको छ ।
जिल्ला सदरमुकामको सिद्धिचरण नगरपालिका–११ स्थित उद्योग वाणिज्य संघको हलमा अधिवेशन आयोजना गर्ने तयारी गरिएको हो ।
जिल्ला अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रतिनिधि एवं नेत्री गोमा केसीले कात्तिक २१ गते बिहान ११ बजे उद्घाटन सत्र र दिउँसो १२ बजेदेखि बन्द सत्र सुरु हुने जानकारी दिनुभयो । बन्द सत्रमा नेतृत्व चयनका साथै सांगठनिक तथा राजनीतिक विषयमा छलफल हुने उहाँको भनाइ थियो ।
अधिवेशनका लागि खटिनुभएका जिल्ला निर्वाचन अधिकृत एवं अधिवक्ता टेकबहादुर राईले जिल्लाका सबै वडा र पालिका अधिवेशनहरू सम्पन्न भइसकेकाले अब दुवै प्रदेशसभा क्षेत्र र जिल्लाको नेतृत्व तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
निर्वाचन तालिका अनुसार कात्तिक २१ गते दिउँसो साढे १२ बजे मतदाता नामावली प्रकाशन, दिउँसो १ बजे मनोनयन पत्र दर्ता र अपराह्न, ३ बजेदेखि मतदान सुरु हुने कार्यक्रम रहेको छ । नेतृत्व सम्भव भएसम्म सर्वसम्मत ढङ्गले चयन गर्ने प्रयास गरिने निर्वाचन अधिकृत राईले उल्लेख गर्नुभयो ।
कार्यक्रममा १५औँ महाधिवेशनका लागि ओखलढुङ्गा जिल्ला संयोजक बालगोविन्द राजभण्डारीले पार्टीलाई अनुशासित, एकढिक्का र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ओखलढुङ्गाको पूर्वाधार तथा पर्यटन विकासमा नेपाली कांग्रेसको महत्त्वपूर्ण योगदान रहने बताउनुभयो ।
पार्टीका वडा, पालिका र क्षेत्रबाट चयन भएका प्रतिनिधिहरूको सहभागितामा जिल्लाको नयाँ नेतृत्व तथा महाधिवेशन प्रतिनिधिहरूको चयन गरिने बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्