Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


बारामा स्वास्थ्य केन्द्र उद्घाटनको विवादमा गोली चल्दा एक युवक घाइते


819
Shares

प्रकाश लम्साल, बारा । स्वास्थ्य केन्द्र उद्घाटनको विषयलाई लिएर भएको विवाद उग्र बनेपछि बारामा गोली चल्दा एक युवक घाइते भएका छन् ।

संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । तर, गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद सुरु भएको थियो ।

अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीचको विवादले झडपको रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन । प्रहरीले भने गोली चलाएको घटनाबारे औपचारिक पुष्टि गरेको छैन ।

इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको जानकारी दिनुभयाे ।

बाराको फेटा गाउँपालिका–३ मा निर्माण भएको स्वास्थ्य केन्द्र उद्घाटनलाई लिएर विवाद भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।

घटनामा गोली लागि घाईते भएका व्यक्तिको उपचार अहिले नेशनल मेडिकल वीरगञ्जमा भईरहेको छ ।

Skip This