
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, असोज १५ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकान्डको छानबिन जटिल मोडमा पुगेको छ ।
शंकाको घेरामा रहेका निलम्बित एसपी डिल्लीराज विष्टसहित तीनजनाको डीएनए परीक्षण मेल नखाएपछि अनुसन्धान फेरि शून्य विन्दुमा त पुग्यो नै अब कसरी अनुसन्धान थाल्ने भन्ने चुनौती पनि प्रहरीलाई थपिएको छ ।
जनदबाबपछि निलम्बित एसपी डिल्लीराज विष्टसहितका तीनजनाको डीएनए परीक्षण गरिएको थियो । तर, त्यो परीक्षणले प्राप्त सबुदसँग मेल नखाएपछि घटनाको अनुसन्धान फेरि नयाँ शीराबाट गर्नुपर्ने देखिएको हो ।
यसअघि, घटनामा दोषी देखाइएका दिलीपसिंह विष्टको पनि डीएनए परीक्षण ‘फेल’ खाएको थियो ।
घटनामा केही व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेपनि त्यसले कुनै तथ्यलाई उजागर गर्न सकेन । पछिल्लोपटक तीनजनाको डीएनए परीक्षण आन्दोलनकै उपज थियो ।
त्यसले पनि दोषी ठम्याउन नसकेपछि अब अनुसन्धान फेरि शून्य अवस्थाबाटै गर्न लागेको प्रहरीले जनाएको छ ।
अर्कोतर्फ गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि अनुसन्धानमा देखिएको त्रुटिबाहेक कुनै तथ्यलाई सार्वजनिक गर्न सकेन ।
पछिल्लो डीएनए परीक्षणको विश्वसनीयतामाथि पनि स्थानीयले शंका व्यक्त गरेका छन् ।
आफ्नै संगठनको व्यक्ति शंकाको घेरामा रहँदा पनि प्रहरीले आफ्नै प्रयोगशालामा डीएनए परीक्षण गरेको भनेर उनीहरुले आपत्ति जनाएका छन् ।
निलम्बित एसपी विष्टसहित शंकास्पद तीनजनाको पुनः डीएनए परीक्षण हुन्छ या हुँदैन ? यो विषय अनिश्चित बनेको छ ।
हत्यारा पत्ता लगाउन दबाब दिँदै कन्चनपुरसहित देशैभर दबाबमूलक आन्दोलन जारी छ ।
अधिकारकर्मीले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै रिले अनशनलाई जारी राखेका छन् ।
हत्याकान्डको एउटामात्र प्रमाणकारुपमा रहेको ‘भेजाइनल स्वाब’लाई आधार मानेर अनुसन्धान गर्नुपर्ने कठिन परिस्थितिमा यतिबेला प्रहरी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्