Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


दोधारा–चाँदनी झोलुङ्गे पुलको स्पानमा क्षति


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । दोधारा–चाँदनीलाई देशका अन्य भागसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेको छ।

दोधारा–चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकका अनुसार पुलको दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति देखिएको हो। क्षति के कारणले भएको हो भन्नेबारे विस्तृत प्राविधिक जाँच भने हुन बाँकी रहेको उहाँले बताउनुभयो।

पुलको क्षतिग्रस्त भागलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन संयन्त्रले निगरानी बढाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले क्षतिग्रस्त भागबाट आवागमन गर्दा सावधानी अपनाउन आग्रह गर्दै पुलको अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभएको छ।

करिब डेढ किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यम रहँदै आएको छ। पुल निर्माण हुनुअघि स्थानीयवासी महेन्द्रनगरलगायतका क्षेत्रमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्न बाध्य थिए। वर्षायाममा महाकालीको बहाव बढ्दा किस्तीमार्फत नदी वारपार गर्नुपर्ने अवस्था समेत थियो।

२०५८ सालतिर निर्माण भएको पुलले दोधारा–चाँदनीको बाँकी नेपालसँगको आवागमन सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा सामाजिक सम्बन्ध विस्तारमा समेत महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन्।

पछिल्लो समय महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भई ठूला सवारीसाधनको आवागमन सहज भए पनि झोलुङ्गे पुल पैदलयात्री तथा स्थानीय आवागमनका लागि महत्वपूर्ण रहँदै आएको छ। पछिल्ला वर्षमा यो पुल पर्यटकीय आकर्षणका रूपमा समेत स्थापित हुँदै गएको छ।

Skip This