Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द


832
Shares

सागर न्यौपाने,स्याङ्जा । तीन दिनदेखि परेको अविरल वर्षाका कारण स्याङ्जाको बेल्टारीस्थित ‘ए’ जलविद्युत् केन्द्रबाट हुँदै आएको १४४ मेगावाट विद्युत् उत्पादन बन्द गरिएको छ।

कालिगण्डकी नदीमा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजनाले विद्युत् उत्पादन बन्द गरेको हो। असार–साउनको तुलनामा असोज महिनामै नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि मिर्मीस्थित ड्यामका तीनवटै ढोका खोलिएको छ।

पानीको बहाव निरन्तर बढ्दै गएपछि ड्यामको अवस्था तथा आसपासका बस्तीमा हुन सक्ने डुबानको जोखिमलाई मध्यनजर गर्दै शुक्रबार राति ८ः४५ बजेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।

कालिगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव अत्यधिक बढेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आयोजना बन्द गरिएको हो।

उनका अनुसार नदीमा पानीको बहाव घटेपछि आयोजनाबाट पुनः नियमित रूपमा विद्युत् उत्पादन सुरु गरिनेछ। असोज महिनामै कालिगण्डकी नदीमा अस्वाभाविक रूपमा बढेको पानीको बहावका कारण नदी आसपासका बस्ती तथा विभिन्न संरचनामा समेत जोखिम बढेको छ।

आयोजनाले ड्याम तथा आसपासको अवस्थालाई निरन्तर निगरानीमा राखेको जनाएको छ।

Skip This