Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


निरन्तर वर्षाले बीपी राजमार्ग अवरुद्ध, रोशी खोलामा सतर्कता तह पार


117
Shares

काभ्रे । लगातार भइरहेको वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

रोशी गाउँपालिका–७ चारसयवेशी र वडा नम्बर ८ गिम्दीवेशीमा सडक माथिबाट पहिरो खसेपछि बीपी राजमार्गको उक्त खण्डमा दुवैतर्फको यातायात रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीले बीपी राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

यसैबीच, रोशी खोलाको पनौतीस्थित जलमापन केन्द्रमा पानीको सतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार खोलाको जलसतह अझै बढ्दो क्रममा रहेको छ।

जलसतह बढिरहेकाले तल्लो तटीय तथा डुबानको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ।