Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा २ जनाको निधन

शव आज हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी

494
Shares

काठमाडाैं । हिउँपहिरोमा पुरिएर मनास्लु हिमालमा २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गाेरखाले भारतीयमूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको आइतबार राति हिउँपहिरोमा पुरिएर मृत्यु भएको जनाएकाे हाे । सुतिरहेको टेन्टमा माथिबाट आएको हिउँपहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको छ । दुवै जना मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

तेस्रो शिविरमा टेन्टभित्रै करिब सात फिट हिउँले पुरिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको शव सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भएको प्रहरीले जनाएकाे हाे । याेसँगै मनास्लुमा यस याममा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि सिंगापुरका आरोही ५० वर्षीय लाउ वी सेङको पनि दोस्रो शिविरमा मृत्यु भएको थियो । साथै, नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको पनि आधारशिविरमा मृत्यु भएको थियो । मनास्लु आरोहणका लागि यस याममा ४ सय ८० विदेशी आरोहीले अनुमति लिएका छन् ।

आरोहणको रोप फिक्सिङ सम्पन्न भइसकेको हाे । आरोहीहरू आरोहणको अन्तिम तयारी गरिरहेका छन् ।