काठमाडाैं ।
सामाजिक संस्था द स्मल वर्ल्ड (टिएसडब्यू)ले रसुवामा बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा आवासका लागि आवश्यक सामग्री सहयोग गरेको छ ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोटको त्रिशूली, बेत्रावतीलगायतका क्षेत्रमा पुगेर संस्थाले प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो ।
सहयोगमा खाद्यान्न, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक कपडालगायतका सामग्री रहेका छन् । बाढीपछि घर तथा दैनिक जीवनका अत्यावश्यक सामग्री गुमाएका परिवारलाई लक्षित गरी विदुर नगरपालिकासँगको समन्वयमा तीन सयभन्दा बढी परिवारलाई बासका लागि आवश्यक एक–एक सेट सामग्री उपलब्ध गराउने तयारीसमेत गरिएको संस्थाले जनाएको छ ।
विपद्का बेला राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावित परिवारसम्म सहयोग पुग्न सकोस् भन्ने उद्देश्यले स्थानीय सरकारसँग समन्वय गरेर राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाका संस्थापक अध्यक्ष कर्मा शेर्पाले जानकारी दिनुभयो । संस्थाले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गरी सोहीअनुसार सामग्री वितरणलाई प्राथमिकता दिएको जनाएको छ ।
टिएसडब्यूले उक्त राहतका लागि अमेरिकामा रहेका विभिन्न संस्था तथा व्यक्तिहरूबाट सहयोग संकलन गरेको हो । विदेशबाट प्राप्त सहयोगलाई नेपालमा परिचालन गर्न समाज कल्याण परिषद्को स्वीकृति लिएर तथा स्थानीय सरकारसँग आवश्यक समन्वय गरी राहत कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ ।
बाढी तथा पहिरोजस्ता विपद्का कारण प्रभावित परिवारले घर, खाद्यान्न, कपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने सामग्री गुमाउने भएकाले तत्कालीन राहतसँगै पुनःस्थापनाका लागि आवश्यक सहयोगमा समेत संस्थाले जोड दिएको छ ।









प्रतिक्रिया दिनुहोस्