Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


घट्टेकुलो नमूना टोल सुधार समितिद्वारा २० जना ज्येष्ठ नागरिकलाई सम्मान


52
Shares

काठमाडाैं ।
घट्टेकुलो नमूना टोल सुधार समितिले २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

समितिले शविनार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान तथा १८ औँ वार्षिक साधारणसभा कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । समितिका पूर्वअध्यक्ष एवं सल्लाहकार मोहनकुमार डाँगीले समितिले हालसम्म ४९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार गत वर्ष २९ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । डाँगीले साधारणसभाले समितिको नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिनुभयो ।

आगामी नेतृत्वले पनि अघिल्लो कार्यसमितिले गरेका कामलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । टोल सुधार समितिले संस्थाको इतिहास अभिलेखीकरण गर्ने लगायतका महत्वपूर्ण काम गरेको बताउनु भयो । उहाँकाअनुसार घट्टेकुलो क्षेत्र विगतमा पानी जम्ने, खाल्डाखुल्डी र न्युन पूर्वाधारका कारण असहज अवस्थामा थियो ।

तर टोल सुधार समिति गठन भएपश्चात टोल सफा, व्यवस्थित र नमूना क्षेत्रका रूपमा विकास भएको उहाँको भनाई छ । टोल सुधार अभियानलाई आगामी पुस्तामा हस्तान्तरण गर्न नयाँ पुस्तालाई समितिको गतिविधिमा सहभागी गराउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

समितिका अध्यक्ष गणेशप्रसाद कट्टेलले टोलका समस्या समाधानका लागि वडा कार्यालयसँग निरन्तर समन्वय गरेर काम गरेको बताउनु भयो । उहाँले आगामी दिनमा उपलब्धिमूलक कामलाई प्राथमिकता दिने बताउनु भयो । टोल सुधार समितिको मुख्य प्राथमिकता फोहोर व्यवस्थापन र सरसफाइ रहेको उहाँको भनाई छ ।

प्रत्येक घरधुरीले आफ्नो घर र घरअगाडिको क्षेत्र सफा राखी फोहोरको उचित व्यवस्थापन गरेमा टोललाई थप व्यवस्थित र बस्न योग्य बनाउन सकिने उहाँले बताउनु भयो । उहाँले नयाँ कार्यसमितिमा नयाँ पुस्ताका युवालाई समेत सहभागी गराउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।
समितिको १८ औँ वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । साधारणसभामा संस्थाको वार्षिक गतिविधि तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो ।