काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार- नीतिगत सुधारका विषयमा विस्तृत रूपमा छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उनीहरूबीच करिब २ घण्टा छलफल भएकाे हाे। प्रधानमन्त्री शाहको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी भएका थिए।
भेटवार्ताको सहजीकरण सांसद एवम् व्यवसायी विदूषी राणाले गर्नुभएको थियो । छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ उपस्थित हुन सक्नुभएन।
‘कानून बाधक भए नयाँ ल्याउँछौं, ढुक्क भएर लगानी गर्नुस्’:
छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो । भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्री शाहले लगानी प्रवर्द्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनुभएको पूर्वअध्यक्ष ढकालले जानकारी दिनुभएकाे छ।
उहाँले भन्नुभयाे,.‘प्रधानमन्त्रीले हाम्रा कुरा मज्जासँग सुन्नुभयो । हामी आधा घण्टालाई भनेर गएका थियौं, दुई घण्टा बस्यौं, ‘यो भेट केवल औपचारिक गुनासो सुन्ने थलो मात्र रहेन, दुईतर्फी अन्तरक्रियात्मक शैलीमा कुराकानी भयो । उहाँले विषयवस्तुको गहिराइमा पुगेर आफैँ प्रश्नहरू सोध्नुभयो र समाधानको ठोस उपाय खोज्न चासो देखाउनुभयो ।’
पूर्वअध्यक्ष ढकालका अनुसार प्रधानमन्त्री शाहले घरेलु पूँजीको परिचालन र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) दुवैलाई सँगसँगै अघि बढाउने आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । विशेषगरी पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने, आन्तरिक रोजगारीका अवसर सिर्जना गर्ने र राज्यको राजस्वको दायरा फराकिलो बनाउने विषयमा प्रधानमन्त्रीको विशेष चासो थियो ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद तथा व्यवसायी विदूषी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्त विस्तृत र समाधानमुखी भएको बताउनुभएकाे छ । छलफलमा व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए । यस विषयमा प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुभएको सांसद राणाले जानकारी दिनुभएकाे छ।
पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षित गर्न प्रधानमन्त्रीले आकर्षक प्रस्ताव अघि सार्नुभएको सांसद राणाले बताउनुभयो । प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई कसैले डोल्पा, मुगु वा राराजस्ता विकट ठाउँमा गएर १ अर्ब रुपैयाँसम्म लगानी गरी उद्योग वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले बताउनुभएकाे छ । यस प्रस्तावपछि व्यवसायीहरूले राज्यले आधारभूत पूर्वाधारको प्रत्याभूति गरे निजी क्षेत्र जस्तोसुकै दुर्गम क्षेत्रमा पनि लगानी खन्याउन तयार रहेको बताएका थिए ।
यसका साथै छलफलमा नेपाली विद्यार्थी र पूँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट सङ्ख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।
देशको अर्थतन्त्रमा ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई पूर्ण विश्वासमा लिएर ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले व्यवसायीहरूलाई स्पष्ट पार्नुभएकाे छ।









प्रतिक्रिया दिनुहोस्