काठमाडौं । शिक्षक सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साल नियुक्त भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका लम्साललाई आयोगको अध्यक्ष पदमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो ।
उहाँका अनुसार बैठकले आयोगको सदस्यमा मकवानपुरका रामशरण सापकोटा र महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे रिमाललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । उहाँले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी अपराध नियन्त्रणका लागि नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताउनुभयो ।
उहाँले बैठकले काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहका १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूचीसमेत स्वीकृत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले सहसचिव विनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सहसचिव उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अनुचित लेनदेन मिटर ब्याजर अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ । काठमाडौं भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कुल २७ स्थानीय तहहरुको १७ हजार ४ सय ३८ गरिब घरपरिवारको सूची स्वीकृत गर्ने, शिक्षक सेवा आयोगको अध्यक्षमा डा.हरिप्रसाद लम्साल (भक्तपुर) र सदस्यमा श्री रामशरण सापकोटा (मकवानपुर) एवं महिला सदस्यमा विष्णु घिमिरे रिमाल (काठमाडौं)लाई नियुक्ति गर्ने निर्णय पनि भएको छ ।
सहसचिव बिनोदबहादुर कुँवरलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने र सहसचिव श्री उत्तरकुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिमको प्रदेश प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।’
उहाँले नेपाल–इन्डिया इन्टरगभर्मेन्टल सबकमिटी आईजिएससीको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय समेत भएको बताउनुभयो । उहाँले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको राजीनामा स्वीकृत गर्दै उक्त पदमा सुनसरी–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार साहको नाम सिफारिस गरिएको समेत जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्