Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


रसुवा बाढी: चीनतर्फ अलपत्र परेका ६७० नेपाली नागरिकको सकुशल उद्धार


611
Shares

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ नाकामा अलपत्र परेका ६ सय ७० जना नेपाली नागरिकको सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बलले नेपाल-चीन सीमावर्ती सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै उनीहरुलाई स्वदेश फर्काइएको जनाएको हाे। व्यापार व्यवसाय, भ्रमण तथा पर्यटन लगायत विभिन्न कामले केरुङ पुगेका नेपाली यहि भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण उतै रोकिएका थिए । चीन सरकारको विशेष सहयोग तथा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको प्रत्यक्ष सहजीकरण र समन्वयमा उद्धार गरिएका नेपालीलाई सुरक्षित रूपमा काठमाडाैं पठाइएको हो ।

स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि भोटेकोशी गाउँपालिका–२ तातोपानी नाकाबाट नेपाल प्रवेश गराइएको हो । सशस्त्र प्रहरीले भदौ १८ गते ११४ जना, भदौ १९ गते १५५ जना, भदौ २० गते ९६ जना, भदौ २१ गते १०५ जना, भदौ २२ गते १०६ जना र भदौ २३ गते ९४ नेपाली स्वदेश फर्किएकाे जनाएकाे छ।

तातोपानी अध्यागमन कार्यालयले चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बर समेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने गरेको जनाएकाे हाे।