Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


सरकारले राज्यको सामर्थ्य कब्जा गरेर निश्चित मान्छेलाई बचाउने खेल गरेकाे सचिव बस्नेतकाे आराेप


156
Shares

काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यको स्रोत, साधन र सामथ्र्यलाई नियन्त्रणमा जेनजी आन्दोलनका निश्चित मानिसहरुलाई बचाउने खेल भएको आराेप लगाउनुभएकाे छ।

भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै सचिव बस्नेतले यस्तो आराेप लगाउनुभएकाे हो । आफूहरूले विगतमा अपराधमा संलग्न व्यक्तिविरुद्ध दिएका जाहेरी तथा पक्राउ गरेर प्रहरीलाई बुझाएका व्यक्तिमाथि समेत कारबाही नभएको भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाउनुभयो । उहाँले कारबाही नहुनुले प्रहरी समेत घटनामा संलग्न रहेको आशंका पैदा भएको दावी गर्ने बताउनुभएकाे छ। सचिव बस्नेत जेनजी प्रदर्शन घटनामा प्रहरी संरचना समेत ठूलो क्षतिमा परेको उल्लेख गर्दै प्रहरी चौकी, अदालत, सवारीसाधन तथा हतियारमा ठूलो क्षति भएको बताउनुभयो । उहाँले यस्तो अवस्थामा पनि दोषीमाथि कारबाही हुन नसक्नु गम्भीर विषय भएको बताउनुभएकाे छ।

सचिव बस्नेत जेनजी घटनाको छानबिनका लागि गठन भएको कार्की आयोगको निष्पक्षतामाथि समेत प्रश्न उठाउनु भयो । सिंहदरबार, संसद तथा सर्वोच्च अदालतलगायतका संरचनामा भएको आगजनी र हिंसाबारे निष्पक्ष छानबिन हुनुपर्ने उहाँको भनाइ छ । बस्नेतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी १३ दिनसम्म राखिएको प्रसंग उठाउँदै त्यसबाट के अभियोग स्थापित भयो भन्ने प्रश्न समेत गर्नुभयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साह, गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि पनि घटनाको गम्भीर छानबिन भए कारबाहीको आधार भेटिन सक्ने दावी गर्नुभएकाे छ।

सचिव बस्नेतले वर्तमान सरकारलाई ‘असक्षम, अयोग्य र कठपुतली सरकार’को संज्ञा दिनुभयो । विदेशी शक्तिको प्रभावमा सरकार चलेको आरोप लगाउँदै उनले सरकार जति लामो समय रहन्छ, मुलुकलाई त्यति नै क्षति हुने दावी गर्नुभएकाे छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारमा समेत सरकार असफल भएको उहाँको आरोप छ। उहाँले विपद्को समयमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूको भने प्रशंसा गर्नुभयो ।

तर, सुरक्षा निकायको नेतृत्व र समग्र संस्थामाथि गम्भीर प्रश्न उठेको सचिव बस्नेतको भनाइ छ। बस्नेतले रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकाेप्टर पर्याप्त रूपमा प्रयोग हुन नसकेको आरोप लगाउनुभयो ।

पीडितहरूले रकम तिरेर समेत हेलिकप्टरमार्फत उद्धार गर्न खोज्दा अनुमति नदिइएको सचिव बस्नेतको दावी छ ।