Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


पञ्चदान पर्व थिमि भक्तपुर


117
Shares

केके मानन्धर

भक्तपुर। भक्तपुरमा नेपाल संवत् तिथि बमोजिम गुंलागा त्रयोदशीको दिन पञ्चदान पर्व मनाउँछन् ।

बाैद्ध समाजमा मौलिक परम्पराको रुपमा स्थापित पञ्चदान ठाउँ अनुसार पृथक ढंगले मनाउने प्रचलन पाइन्छ । ललितपुरकाे पाटनमा गुंलाथ्व अष्टमीको दिन पञ्चदान पर्व मनाउँछन् । ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वले भरिएको पञ्चदान २८ बुद्ध मध्येका एक दिपंकर बुद्धसँग सम्बन्धित छ । दिपंकर बुद्ध शाक्यमुनि बुद्ध भन्दा पहिलेका हुन् भन्ने विभिन्न अभिलेखहरुले प्रमाणित गर्दछ । यस पर्वमा साधारणतया बौद्धविद्वान निर्देशित दानहरु मध्य आमाबाबु व गरीब पछि बौद्धभिक्षुलाई दान गर्ने परम्परा छ । पञ्चदानलाई अरु शब्दमा पञ्जदान, पञ्जादान, र पञ्जराँ समेत भनिंदै आएको पाइन्छ ।

शब्द जस्तो भए पनि पाँच किसिमका दानहरु मध्ये वर्षमा एकचोटि मनाइने पर्व पञ्चदानमा पूजा, भोजन, पान, औषधी र दैनिक जीवनमा आवश्यक बस्तु दान गरिंदै आएको पाइन्छ । यस पर्वमा बौद्ध उपासक–उपासिकाहरुले आ–आफ्नो गच्छे अनुसार सम्बन्धित बिहारमा दानशाला बनाउँछन् । पञ्चदानका दिन दानशाला वरपर तथागत बुद्ध, बोधिसत्व, तारा, लोकेश्वर, करुणामय, बसुन्धाराका मूर्ति प्रदर्शनमा राखिएका हुन्छन् । यस दिन नगरका विभिन्न ठाउँमा पूजा गर्ने क्रममा शील पूजा समेत गरिन्छ ।

भिक्षाटनका लागि वरे समाजका कुलपुत्रहरुले आ–आफ्नो चोकः, घर तथा बिहारमा स्वागत गरी अक्षता, धुप, काँक्रो, फूल, पिण्डपात्र, किसिली, दक्षिणा, केराउ, भटमास आदि बस्तु दान दिन्छन् । भक्तपुर नगरमा पञ्चदानका दिन पाँच दिपंकरबुद्धलाई नगर परिक्रमा गराइ वरे समाजका कुलपुत्रहरु दान लिन जाने गरिंदै आएको छ भने काठमाडौं तथा पाटनमा सो प्रक्रिया देखिंदैन । यता भक्तपुरकै मध्यपुर थिमि नगरमा तीन दिपंकर बुद्धलाई परिक्रमा गराउँछन् ।

पञ्चदानका सन्दर्भमा भक्तपुरमा अवस्थित पाँचवटा बिहारका पाँच दिपंकरबुद्धहरु समेतको पोङा सम्मिलित गुंलाबाजा बजाइ नगर परिक्रमा गरी पञ्चदान लिन जाने परम्परा छ । पञ्चदान पर्व कहिले देखि मनाईंदै आएको हो भन्ने आधिकारिक प्रमाणहरु नभेटिए पनि भेटिएको अभिलेख अनुसार भक्तपुरमा राजा जगतज्योती मल्लको पालामा नेपाल संवत् ७३० मा तःधिछेँ बहाःका जयदेव बज्राचार्यले दिपंकर तथागतका मूर्ति बनाइ पञ्चदान पर्व व्यवस्थित गरी चौवन्न ठाउँमा विराजमान गराउने ठाउँ छनाेट गरिएको भन्ने उल्लेख गरिएकाे छ।