Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


रसुवा बाढी अपडेट: मृतककाे संख्या १३ सय ६७ पुग्यो, ५ हजार बढी अझै सम्पर्कविहीन

विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार

195
Shares

काठमाडाैं। रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ जना पुगेको छ ।

गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहत सम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो । प्राधिकरणका अनुसार सबै भन्दा बढी शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका हुन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ ।

प्राधिकरणले हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको जनाएको हाे । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ । बाढी तथा विपद्का कारण करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको हाे। रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन रहेका छन् ।

त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका हुन् । नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् । त्यस्तै, करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सनाखत भएका शवको संख्या सम्पर्कविहीनको संख्याबाट घटाइएको प्राधिकरणले जनाएको हाे ।

विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका हुन् । नेपाल प्रहरीका ७ हजार ९ सय ७५, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् । विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका हुन् । तीमध्ये रसुवामा ७ सय ३३, नुवाकोटमा २ हजार ६ सय ९९ र धादिङमा १९६ जना रहेका छन् ।

प्राधिकरणले विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको जनाउकाे हाे। उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् । त्यसैगरी, नेपाली सेनाले ३ हजार ५ सय ३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २ सय ८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको हाे ।