काठमाडाैं । भारतको मध्यप्रदेशका मुख्यमन्त्री डा. मोहन यादव र कूटनीतिक विज्ञ रिजवान आलमबीच संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा विशेष शिष्टाचार भेटवार्ता भएको छ।

मध्यप्रदेशमा वैदेशिक लगानी भित्र्याउने र रणनीतिक साझेदारी विस्तार गर्ने उद्देश्यले आयोजित ‘इन्भेस्ट इन मध्यप्रदेश’ अन्तरक्रियात्मक कार्यक्रमका क्रममा उनीहरूबीच यो उच्चस्तरीय भेट भएको हो। समारोहका प्रमुख अतिथि मुख्यमन्त्री डा. यादवको विशेष निमन्त्रणामा कूटनीतिक विज्ञ आलम उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएकाे थियाे। यूएईमा रहेर पश्चिम एशियाका देशहरूको भूराजनीतिक गतिविधिमा पुर्याएको योगदानको कदर गर्दै मुख्यमन्त्री यादवले आलमलाई उच्च तहको सरकारी आमन्त्रण पठाउनुभएकाे हाे।

प्रवासमा रहेर भारतीय उच्च अधिकारीबाट सरकारी स्तरमै यस्तो आमन्त्रण पाउने आलम एक विशिष्ट व्यक्ति हुनुहुन्छ। मुख्यमन्त्री यादव र रिजवानबीच यूएईमा भएको यो दोस्रो उच्चस्तरीय भेट हो। नेपालको सुनसरी जिल्लामा जन्मिएर दक्षिण एशिया, भारत र अरब क्षेत्रको कूटनीतिक तथा व्यापारिक क्षेत्रमा सक्रिय रहेका आलमले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भोग्नुपरेको बाढी-पहिरोको पीडा र जलवायु परिवर्तनको गम्भीर असरकाे बारेमा जोडदार आवाज उठाउनुभएकाे छ।
आलमले जलवायु परिवर्तनको मारमा नेपाल सबै भन्दा बढी प्रभावित भएको उल्लेख गर्नुभएकाे छ। उहाँले यसको असर विश्वव्यापी रुपमा रहेकाे समस्या समाधानका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय एकै ठाउँमा उभिउनुपर्ने र नेपाललाई विशेष सहयोग गर्नुपर्नेमा जाेड दिनुभयाे। साेही कार्यक्रममा भारतको हालको बलियो आर्थिक वृद्धि, रूपान्तरणकारी नीतिगत सुधार, विश्वस्तरीय पूर्वाधार, नवप्रवर्तन र दिगो विकासका विषयमा वृहत छलफल भएको थियो।
सोही अवसरमा मुख्यमन्त्री यादवले भारतमा सिर्जित अनुकूल आर्थिक वातावरणले विश्वभरका लगानीकर्तालाई दीर्घकालीन व्यावसायिक साझेदारीको ठूलो अवसर दिएको बताउनुभएकाे छ। प्रचुर प्राकृतिक स्रोत-साधन, दक्ष जनशक्ति, उत्कृष्ट पूर्वाधार, बढ्दो बजार र प्रगतिशील नीतिका कारण मध्यप्रदेश वैदेशिक लगानीका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको उहाँको तर्क थियाे।









प्रतिक्रिया दिनुहोस्