काठमाडाैं । धादिङको धादिङबेसी जोड्ने फुर्केखोला खण्डको वैकल्पिक सडक मंगलबार १० घण्टा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोला खण्डमा प्रयोग भइरहेको वैकल्पिक सडक मर्मतका लागि मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म १० घण्टा गाडीको आवागमन पूर्ण रूपमा बन्द हुने जनाएको हाे। यहि भदौ १० गतेको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत गजुरी गाउँपालिका–२, फुर्केखोलामा रहेको पक्की पुल बगाएपछि अहिले ‘परेवाटार–पिपलटार–आदामटार–बेलिनटार–मास्टार’ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको थियो ।
यो वैकल्पिक सडकमा थप मर्मत सम्भारको काम गर्नुपर्ने हुँदा आज बन्द गरिएको प्रशासनले जनाएको छ । सडक बन्द रहने अवधिमा यात्रा गर्ने यात्रु तथा गाडीका लागि प्रशासनले अर्को वैकल्पिक मार्ग ‘धादिङवेशी–सुनौला बजार–भोलें–कोशीखोला–फोसेटार–कल्लेरीटार’ वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न जारी सूचनामार्फत अनुरोध गरेको हाे ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको फुर्केखोला र मलेखु बजारको बीचमा पर्ने परेवाभीर खण्डमा भने मर्मतको काम सकिएसँगै हिजो बेलुकादेखि दुईतर्फी गाडी चल्न थालेका छन् ।










प्रतिक्रिया दिनुहोस्