काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको लागि एम.भी. दुगड ग्रुपले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
घटनाको तेह्रौं दिन सोमबार राष्ट्रिय शोक दिवसको सन्दर्भमा एमभी दुगडले अर्थमन्त्री स्वर्णीम वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो । एम.भी. दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्तरुपमा अर्थमन्त्रीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
एम.भी. दुगड ग्रुप र अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोग समेत गरी कूल रु. १ करोड ११ लाख बराबरको चेक अर्थमन्त्री स्वर्णीम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए ।
यस विनाशकारी विपदमा जलवायु परिवर्तन तथा ग्लोबल वार्मिंग मुख्य कारक रहेको प्रति चिन्ता ब्यक्त गर्दै अध्यक्ष दुगडले ग्रुपमार्फत विगत पाँच वर्षदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए ।
हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपी संरक्षण गर्ने कार्य भएको उनले बताए। ग्लोबल वार्मिंगको असर कम गराउने यस कार्यमा ग्रुप र ग्रुपका कर्मचारीहरू निरन्तर लागिपर्ने उनले प्रतिवद्धता पनि प्रकट गरेका छन्।
ग्रुपको तर्फबाट दिइएको चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपदमा निजी क्षेत्रको साथ र सहयोगले सरकारलाई थप बल मिलेको बताए । उनले विपद ब्यवस्थापनमा सरकारले कुनै कसर बाकी नराखेको समेत बताए।
भोटेकोशी बाढीमा परेका नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ । दुगड समूहले गरेको यो रकम नेपालका निजी क्षेत्रबाट गरिएको ठूलो रकम हो । एमभी दुगड समूह नेपालको निजी क्षेत्रको ठूलो उर्जा उत्पादक हो । समूहले यसपछि बाढीग्रस्त क्षेत्रमा खटेका सुरक्षाकर्मी मार्फत राहत वितरणमा लाग्ने पनि जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्