Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


विपद्को समयमा एकताबद्ध भएर उभिन राष्ट्रपति पौडेलको आह्वान


91
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्को समयमा सबै एकताबद्ध भएर उभिन आह्वान गर्नुभएकाे छ ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विपद्को यस कठिन घडीमा राजनीतिक दल,जनप्रतिनिधि,नागरिक समाज,मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था,निजी क्षेत्र,व्यवसायी समुदायलगायत सम्पूर्ण नागरिकलाई एकजुट हुन आह्वान गर्नुभएकाे हाे ।

‘यो विभाजनको समय होइन। एकअर्कालाई दोषारोपण गर्ने वा राजनीतिक विवाद र टकरावमा अल्झिने समय पनि होइन। यो राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’उहाँले भन्नुभयाे ।

राष्ट्रपति पौडेलले अहिले पुनर्निर्माण,पुनःस्थापना र आर्थिक पुनरुत्थानको समय भएको बताउनुभयाे । यी प्रक्रियामा अघि बढ्दै गर्दा नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। ‘हामी पुनर्निर्माण,पुनःस्थापना र आर्थिक पुनरुत्थानको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ,’उहाँले भन्नुभयाे ।

उहाँले अप्रत्याशित तथा भयानक विपत्तिको सामना गर्दै त्यसबाट पार पाउन सबैलाई आवश्यक शक्ति र साहस प्राप्त होस् भन्ने कामना पनि गर्नुभयाे । राष्ट्रपति पौडेलले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, आवश्यक औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयाे।

विशेषगरी बालबालिका,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा जोखिममा रहेका र विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति विशेष ध्यान दिनुपर्ने उनले बताउनुभयाे।