काठमाडाैं ।
रसुवाको भोटेककोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आइतवार साँझ नियमित प्रेश ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताउनुभयो ।
उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् । अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उहाँले बताउनुभयो । प्रवक्ता महतले बाढीले क्षति पुर्याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरुमा समेत खोजी कार्य जारी रहेको बताउनु भयो ।
उहाँकाअनुसार हाल त्रिशूली–३ ए आयोजनाको सुरुङमा १६० मिटर, त्रिशूली–३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म पुगेर उद्धार टोलीले खोजी गरिरहनुभएको छ । उहाँले नेपाल प्रहरीको श्रव्यदृश्य विज्ञ टोलीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको निरीक्षण, अवलोकन तथा विवरण संकलन गरी खोज तथा उद्धारमा सहजीकरण गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रसुवाको भोटेकोशी र त्रिशूली नदिमा बाढी आएको आज १२ दिन पुरा भएको छ । सरकारले विपद्पछिको खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । राज्यका सबै संयन्त्र, प्राविधिक र विशषेज्ञ विज्ञहरु आज पनि यस कार्यमा सक्रिय हुनुभयो ।
यस कार्यमा अन्तर्राष्ट्रिय विज्ञहरुले समेत सहयोग गरिरहनुभएको छ । खोज, उद्धार तथा राहत कार्यको समीक्षा गर्न आज दिउँसो भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीज्यू र माननीय स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीज्यूको उपस्थितिमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठक सम्पन्न भएको छ ।
त्यसैगरी, विषयगत क्षेत्रका निकायहरु, क्लस्टर लिड र रसुवा बाढीपछिको खोज, उद्धार तथा राहत समन्वयको लागि गठित परिचालित टोलीको संयुक्त बैठक सम्पन्न भएको छ । आजपनि विभिन्न जलविद्युत आयोजनाका सुरुङहरुमा खोजि कार्य जारी रह्यो । त्रिशूली ३ एमा १६० मिटर, त्रिशूली ३ बीमा ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर चिलिमेमा १७० मिटर, अप्पर त्रिशूली १ को टनेलसम्म पुगेर खोजी कार्य निरन्तर जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा खटिएको छ ।
पर्यटक प्रहरीले उद्धार भएर आएका पर्यटक तथा बेपत्ता विदेशी पर्यटकहरुका आफन्तहरुलाई सहजिकरणका लागि खटिएको छ । नेपाल प्रहरीको श्रव्यदृश्य विज्ञ टोली ड्रोनमार्फत बाढी प्रभावित खोला किनारहरुमा वस्तुस्थितिको बारेमा निरीक्षण, अवलोकन र विवरण संकलन गरि खोज तथा उद्धारमा सहजिकरण गरिरहेको छ ।
यातायात व्यवस्थासम्बन्धमा पनि कामहरु भइरहेका छन् । यस दुःखद् घटनामा ज्यान गुमाएका १ हजार ३ सय ४२ शव फेला परेका छन् । जसमध्ये ९८ वटा शवको सनाखत भइसकेको छ । सनाखत कार्यलाई सजिलो बनाउन आफन्त तथा नातेदारको डिएनए परिक्षणको कार्य समेत भइरहेको छ ।’ उहाँले बाढीमा बेपत्ता भएका तथा फेला परेका शवको पहिचानका लागि आफन्त तथा नातेदारको डीएनए परीक्षण भइरहेको समेत बताउनु भयो ।









प्रतिक्रिया दिनुहोस्