काठमाडाैं । काठमाडौं उपत्यकाका नागरिकहरूले रसुवाकाे भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका छन् ।
उनीहरुले आइतबार यालीको आयोजना गर्दै नेपाल-चीन सीमा क्षेत्रमा गएको हिमपहिरो र हिमताल विस्फोटपश्चात भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाहरूमा पुर्याएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ऐक्यवद्धता जनाएका हुन् ।
विनाशकारी महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकता दिन माग गरेका छन् । बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न सरकारसँग आग्रह गरिएको हाे।
बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको सनाखतमा जटिलता देखिएको उल्लेख गर्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न ध्यानाकर्षण गराएको छ । शवको पहिचानका लागि डीएनए लगायतका जैविक नमूनाहरू सुरक्षित राख्न र परिवारबाट नमूना संकलन गरी समन्वय गर्न राज्यले देखाएको तत्परताको स्मरण गरिएकाे हाे। पहिचान पश्चात शव हस्तान्तरण प्रक्रियालाई मानवीय संवेदनशीलताका साथ सरल र सहज बनाउन अनुरोध गरिएको छ ।
संकटको यस कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको वक्तव्यमार्फत उच्च सम्मान र प्रशंसा गरेका छन् । महाविपद् प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न राज्यसँग माग गरिएको हाे ।
आवास र जीविकोपार्जन गुमाएकाहरूको पुनःस्थापनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सञ्चार जस्ता आधारभूत पूर्वाधारहरू यथाशक्य छिटो निर्माण गर्न आग्रह गरेका हुन् । पुनर्निर्माणका क्रममा मानव सुरक्षा, वातावरणीय संवेदनशीलता र भविष्यमा आउन सक्ने विपद् जोखिम न्यूनिकरणलाई विशेष ध्यान दिनुपर्ने उल्लेख छ ।
उपत्यकाका नागरिकहरूले शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्ने संकल्प गर्दै प्रभावित परिवारसँग ऐक्यवद्धता प्रकट गरेका छन् । कठिन परिस्थितिमा एक-अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म र नेपाली पहिचान भएको उल्लेख गर्दै उनीहरुले सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्