Logo १८ भाद्र २०८३, बिहिबार | Thu Sep 3 2026


अमेरिकाकाे नयाँ आर्थिक प्रतिबन्धका कारण इरानमा इन्धनकाे चरम अभाव

इन्धन भर्नका लागि घण्टाैंसम्म कुर्नुपरेको चालकहरूकाे गुनासो

728
Shares

एजेन्सी। युद्धका कारण भएको क्षति, आयातमा लागेको प्रतिबन्ध र अमेरिकाकाे नयाँ आर्थिक प्रतिबन्धहरूले इरानमा इन्धन आपूर्ति सीमित गरिदिएको छ।

जसका कारण देशैभरका इन्धन केन्द्रहरूमा सवारीसाधनहरूको लामो लाइन देखिन थालेको हाे। इरानका विभिन्न शहरहरूमा चालकहरूले इन्धन भर्नका लागि घण्टाैंसम्म कुर्नुपरेको गुनासो गरिरहेका छन् । इरानको कराज सहरका एक बासिन्दाका अनुसार केही इन्धन केन्द्रहरूमा प्रतिव्यक्ति बढीमा पाँच लिटर मात्र इन्धन खरिद गर्न दिएको छ। अधिकांश स्टेसनहरू बन्द रहेका र खुला रहेका स्थानमा बिहानैदेखि लामो लाइन लाग्ने गरेको हाे।

ट्रक चालकहरूले प्रमुख सहरहरूका इन्धन केन्द्रहरूमा एक किलोमिटरभन्दा लामो लाइन लाग्ने गरेका कारण पर्याप्त डिजेल पाउन रातभर कुर्नुपर्ने बाध्यता छ । जसले उनीहरूको आम्दानीमा समेत गम्भीर असर पारेको हाे। इरानले हाल दैनिक करिब १ करोड ५० लाख लिटर पेट्रोलको अभाव झेलिरहेको छ । अमेरिकी समुद्री नाकाबन्दीका कारण प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्न कठिन भएको हाे । आन्तरिक उत्पादनले माग धान्न नसकेको जनाइएकाे छ।

इन्धनको कमी पूरा गर्न पेट्रोलमा ० दशमलव ५ प्रतिशत मेथानोल मिसाउन थालिएपछि विवाद सिर्जना भएको हाे। आलोचकहरूले यसले इन्धनको गुणस्तर घटाएको र गाडीको इन्जिनमा क्षति पुर्‍याइरहेको आरोप लगाएका छन्।