Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


एनभिएलको विजेताले २० लाख पाउने


39
Shares

काठमाडाैं । पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभिएल) को विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक केडिया ग्रुपले बुधवार पत्रकार सम्मेलन गर्दै लिगको पहिलो संस्करणको विजेताका लागि २० लाख रुपैयाँ पुरस्कार घोषणा गरेको हो ।

कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ । प्रतियोगिताका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन । कुल ३२ लाख रुपैयाँको पुरस्कारबाट उपविजेता र तेस्रो हुने टोलीले पुरस्कार पाउनेछन् । साथै कुल १७ खेलका लागि प्लेयर अफ दी म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

एनभिएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ । बुधवारकै पत्रकार सम्मेलनमार्फत एनभिएलको गीत र मस्कटको रुपमा डाँफे सार्वजनिक गरिएको थियो । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले लामो समयदेखि प्रतीक्षा गरिएको पुरुष फ्रेन्चाइज भलिबल लिग विश्वस्तरीय खेलाडीको सहभागितासहित सुरु हुनु नेपाली भलिबलका लागि सुखद पक्ष भएको बताए ।

विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीको स्तर उकास्न सहयोग पुग्ने र ठूलो पुरस्कार राशिले भलिबललाई थप व्यावसायिक बनाउन योगदान गर्ने उनको भनाइ थियो । आयोजककाअनुसार प्रतियोगिताको पहिलो दिन टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण आम्दानी बाढीपीडितलाई सहयोगस्वरूप प्रदान गरिनेछ । जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिने पनि आयोजकले जनाएको छ ।

शुक्रबारदेखि शुरु हुने लिगमा खप्तड फाल्कन्स, मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज गरी ६ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन् । सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शिर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । फाइनल र प्लेअफसहित प्रतियोगितामा कुल १७ खेल हुनेछन् ।

पहिलो दिन भदौ १९ गते मधेश वारियर्स र सगरमाथा स्म्यासर्स तथा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच खेल हुनेछ । गत साउन १० गते घरेलु खेलाडीका लागि अक्सन भएको थियो । उक्त अक्सनबाट हरेक टोलीले सातजना खेलाडी अनुबन्ध गरेका थिए । ६ वटा फ्रेन्चाइज टोलीमा एक मार्कीसहित समान तीन विदेशी र ट्यालेन्ट हन्टबाट एक जना गरि कुल १२ खेलाडी छन् ।

सगरमाथा स्म्यासर्सका मार्की खेलाडी हरिहजुर थापा र प्रशिक्षकमा उत्सव खड्का, मधेश वारियर्सको मार्की रविन नगरकोटी र प्रशिक्षकमा भरत यादव, काठमाडौं रेड्सका मार्की प्लेयर सुनिल बोहरा र प्रशिक्षकमा निपबहादुर बिक, अन्नपूर्ण स्पाइकर किङ्सको मार्की हिमाल सुनारी र प्रशिक्षकमा रमेश केसी, कर्णाली शिवराजको मार्की पहल गहतराज र चन्द्रबहादुर कुँवर तथा खप्तड फाल्कन्स मार्की धिरोज बस्नेत र प्रशिक्षकमा रूपेशकुमार बिष्ट छन् ।