प्रकाश भट्ट, कञ्चनपुर । नेपाल–भारत सीमास्थित गड्डाचौकीपारि बनबासाको शारदा ब्यारेजमा महाकाली नदीको पानीको बहाव बढेको छ। मंगलबार दिउँसो गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख ४८ हजार ८ सय १२ क्युसेक पुगेको छ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार पानीको बहाव बढेसँगै बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरिएको छ।
करिब एक शताब्दी पुरानो बनबासाको शारदा ब्यारेज कमजोर बन्दै गएकाले महाकालीमा पानीको बहाव एक लाख क्युसेकभन्दा बढी हुँदा चारपाङ्ग्रे सवारीसाधनको आवागमन रोक्ने गरिएको छ। पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेमा दुईपाङ्ग्रे सवारीसाधन तथा पैदल यात्रुको आवागमनसमेत रोक्ने अभ्यास रहँदै आएको छ।
महाकाली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले कञ्चनपुर प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। प्रशासनले माछा मार्ने, नदी तर्ने तथा नदी किनारमा जोखिमपूर्ण गतिविधि नगर्नसमेत अनुरोध गरेको छ।










प्रतिक्रिया दिनुहोस्