बिबेक भण्डारी, नवलपुर । चौधरी ग्रुप अन्तर्गत देवचुलीमा रहेको चौधरी उद्योग ग्रामका विभिन्न युनिटमा कार्यरत कर्मचारी तथा मजदुरहरूले आफ्नो पारिश्रमिकको केही प्रतिशत रकम बाढी प्रभावितको सहयोगका लागि प्रदान गरेका छन् ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा उद्धार कार्यका लागि उद्योग ग्रामका १,६६३ जना कर्मचारीले स्वेच्छिक रूपमा रकम संकलन गरेका हुन्।
उनीहरूले कुल रु. ८ लाख ३१ हजार ५०० बराबरको रकम प्रधानमन्त्री विपद् तथा राहत कोषमा जम्मा गरेका छन् । उद्योग व्यवस्थापनका अनुसार, कर्मचारीहरूले विपद्पीडितप्रति देखाएको यो सहयोग मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो।
यस कार्यले कठिन समयमा एकताको सन्देश दिएको छ। चौधरी उद्योग ग्रामका वरिष्ठ महाप्रबन्धक रामकाजी सिटौलाले कर्मचारीहरूको यस योगदानप्रति आभार व्यक्त गर्दै विपद्को घडीमा गरिएको यस्तो सहयोगले समाजमा सकारात्मक सन्देश फैलाउने बताए।
उनले भने, “कर्मचारीहरूको यो स्वेच्छिक सहयोगले विपद् प्रभावितप्रति हाम्रो साझा जिम्मेवारीलाई अझ मजबुत बनाएको छ। यसले मानवता र सहकार्यको भावना झन् बलियो बनाएको छ।”










प्रतिक्रिया दिनुहोस्