काठमाडाैं । हालै आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले झापास्थित मेची क्राउन होटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।
होटलका अध्यक्ष बलराम साकोटाले पर्यटनमन्त्री खड्क प्रसाद पौडेल (गनेश) लाई भेटेर सहयोग रकमको २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।
विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
मेची क्राउन होटल पूर्वी नेपालकै आकर्षक तथा चर्चित होटलमध्ये एक हो। विशेषगरी भारतीय पर्यटकका साथै वेडिङ डेस्टिनेसनका रूपमा समेत होटल लोकप्रिय छ।
आकर्षक पूर्वाधार, आतिथ्यता र विवाह तथा विशेष समारोहका लागि उपयुक्त गन्तव्यका रूपमा मेची क्राउनले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्