काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रभावित क्षेत्रका नागरिकले सरकारसँग उद्धार, बेपत्ताको खोजी र राहत वितरणलाई तीव्र बनाउन आग्रह गरेका छन् ।
बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्ती तथा बजार तहसनहस बनाएको छ । टिमुरे, बेत्रावती, स्याफ्रुबेँसीलगायत क्षेत्र प्रभावित भएका छन् । बाढीबाट सयौँको मृत्यु भएको तथा हजारौँ सम्पर्कविहीन रहेको अवस्थामा प्रभावित नागरिकले राज्यको उपस्थिति प्रभावकारी रूपमा महसुस गर्न नपाएको गुनासो गरेका छन् ।
रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीकी शान्ति अधिकारीले बाढी आउनुअघि स्थानीयवासीले एकअर्कालाई खबर गर्दै ज्यान जोगाएको बताउनुभयो । उहाँका अनुसार पूर्ववडाध्यक्षले स्कुटरमा गाउँ–बस्तीमा पुगेर बाढीको सूचना दिएका कारण धेरैले भागेर ज्यान जोगाउन सकेका थिए ।
बाढीले आफ्नो घरसहित बस्ती नै बगाएको बताउँदै अधिकारीले राहत सामग्री नुवाकोटको विदुरसम्म पुगे पनि रसुवातर्फ प्रभावकारी रूपमा पुग्न नसकेको गुनासो गर्नुभयो । उहाँले तत्काल राहत वितरणसँगै सडक र पुल निर्माण गरी विस्थापित नागरिकको पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभयो ।
नुवाकोटतर्फकी बेत्रावतीवासी लक्ष्मी डंगोलले पनि प्रभावकारी पूर्वसूचना नपाएका कारण ठूलो मानवीय क्षति भएको बताउनुभयो । उहाँका अनुसार बाढी आएको केही समयसम्म माथिल्लो क्षेत्रमा बसेर फसेका मानिसले उद्धारका लागि गुहार मागिरहेको देखिए पनि तत्काल उद्धार हुन सकेन ।
उहाँले बाढी गएको तीन दिनपछि मात्र सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगेको दाबी गर्दै समयमै उद्धार भएको भए धेरैको ज्यान जोगाउन सकिने बताउनुभयो । बाढीमा आफ्नी बहिनीसहित परिवारका धेरै सदस्य गुमाएको उल्लेख गर्दै डंगोलले भन्नुभयो, ‘सरकारले अब सासको उद्धार गर्न नसके पनि लासको खोजी गरिदिए हुन्थ्यो ।’
रसुवाकी शान्ता थापाले बाढी प्रभावित क्षेत्रमा अझै धेरै शव बगरमै रहेको बताउनुभयो । शव गन्हाउन थाले पनि उद्धार तथा व्यवस्थापनका लागि पर्याप्त जनशक्ति नपुगेको उहाँको गुनासो छ । बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि सरकारले तत्काल गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
बेत्रावतीका व्यापारी निर्मल प्याकुरेलका अनुसार बाढीमा उहाँकी आमा, दुई जना बाजे र पसलमा काम गर्ने एक महिलासहित परिवारका चार जना सम्पर्कविहीन छन् । बाढीले पसलमा रहेको रु ५० लाखभन्दा बढी मूल्यको सामानसमेत बगाएको उहाँले बताउनुभयो ।
प्याकुरेलले बेपत्ता परिवारका सदस्यको खोजीलाई तीव्र बनाउन तथा रसुवाका दुर्गम क्षेत्रमा तत्काल राहत पुर्याउन सरकारसँग आग्रह गर्नुभयो । उहाँका अनुसार रसुवामा ग्यास, नुन, चामल र तेललगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको छ ।
बेत्रावतीकै रानु अधिकारीले ऐतिहासिक बेत्रावती बजारको अस्तित्व नै नरहेको बताउनुभयो । खोलाको छेउमा बस्ती बसेका कारण क्षति भएको भन्ने भनाइप्रति असन्तुष्टि जनाउँदै उहाँले बेत्रावती नयाँ बस्ती नभई ऐतिहासिक बजार भएको उल्लेख गर्नुभयो ।
उहाँले बाढीमा बेपत्ता आफन्तको खोजी गर्न र बेत्रावती तथा त्यसभन्दा माथिका गाउँमा राहत पुर्याउन आग्रह गर्नुभयो । ‘सास नभए पनि कम्तीमा लास खोजिदिनुस्,’ उहाँको आग्रह थियो ।
प्रभावित नागरिकका अनुसार काठमाडौं आइपुगेकाहरूले तत्काल आफ्नै व्यवस्था गर्न सक्ने भए पनि रसुवा तथा माथिल्लो क्षेत्रमा अझै ठूलो संख्यामा नागरिक राहतको प्रतीक्षामा छन् । उनीहरूले नुवाकोटको विदुरमा थुप्रिएको राहत सामग्री रसुवातर्फ तत्काल पुर्याउन आग्रह गरेका छन् ।
पीडितहरूले नुवाकोट हुँदै रसुवाको चीन सीमासम्मको सडक तथा आवागमन तत्काल सञ्चालन गर्न, राहत सामग्री दुर्गम बस्तीमा पुर्याउन, बेपत्ताको खोजी तीव्र बनाउन र घरबारविहीन परिवारको सुरक्षित पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन् ।
बाढीबाट विस्थापित भई काठमाडौं आएका नागरिकले आफूहरूलाई तत्काल व्यक्तिगत सहयोगभन्दा पनि गाउँमा विचल्लीमा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्