Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


विपद्मा सरकार खोज्नुपर्ने अवस्था आयो, कहिले काहीँ हेलिकप्टरमा उडेको देखिन्छ : ओली


0
Shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि सरकारले खोज, उद्धार तथा राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनुभएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको रु। १० लाखको चेक ग्रहण गर्दै अध्यक्ष ओलीले सरकारको विपद् व्यवस्थापन शैलीप्रति असन्तुष्टि जनाउनुभएको हो।

अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद तथा मन्त्रीहरूलाई लक्षित गर्दै कतिपयले प्रभावित नागरिकलाई हप्कीदप्की गरेर फर्किने, कतिपयले आधारहीन निर्देशन दिने र केहीले समस्यामाथि थप समस्या सिर्जना गर्ने गरेको टिप्पणी गर्नुभयो। उहाँले विपद्पछि केन्द्रीय सरकारको उपस्थितिसमेत खोज्नुपर्ने अवस्था आएको बताउनुभयो।

उहाँले उद्धार कार्यमा निजी क्षेत्रका हेलिकप्टरलाई प्रयोग गर्न सरकारले रोक लगाएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाउनुभयो। उद्धारका लागि तालिमप्राप्त जनशक्ति तथा हेलिकप्टर भएका निजी क्षेत्रलाई समेत परिचालन गर्न सके उद्धार कार्य थप प्रभावकारी हुने उहाँको भनाइ थियो।

“निजी हेलिकप्टर पनि जान्नेहरू छन् त्यहाँ, उद्धार गर्न उत्सुकहरू छन्। उद्धारका निम्ति ट्रेनिङ लिएका मान्छेहरू छन्। त्यस्ता मान्छेहरूलाई हेलिकप्टर प्रयोग गर्न दिने हो भने धेरै काम गर्थे, तर प्रतिबन्ध लगाएर हेलिकप्टर रोक्दिएको छ,” उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले सुरुङ तथा अन्य जोखिमयुक्त क्षेत्रमा फसेकाको उद्धार हेलिकप्टरबाट मात्र सम्भव नहुने उल्लेख गर्दै त्यस्ता स्थानमा आवश्यक प्राविधिक जनशक्ति र उपकरण परिचालन गर्नुपर्ने बताउनुभयो। प्रभावित स्थानीयले आफन्तको खोजी गर्नसमेत अनुमति नपाएको गुनासो गरिरहेको उहाँको भनाइ थियो।

उहाँले विपद्को समयमा सरकारको समन्वयकारी भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै एमालेका नेता, कार्यकर्ता तथा स्थानीय र प्रदेश तहका जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर उद्धार, राहत तथा सहयोगका काममा खटिएको दाबी गर्नुभयो।

“हामी समस्यामा मलमपट्टी लगाउन खोजिरहेका छौँ। यतिखेर पनि हाम्रो पार्टीका नेता–कार्यकर्ता, स्थानीय र प्रदेशका जनप्रतिनिधिसमेत स्थलमै खटिएर काम गरिरहनुभएको छ,” उहाँले भन्नुभयो।

Skip This