काठमाडौं । अविरल वर्षासँगै देशका काठमाडौं र धादिङसहित २९ जिल्लामा साेमबार आकस्मिक बाढीको जोखिमको पूर्वानुमान गरिएकाे छ ।
बाढी पूर्वानुमान महाशाखाले कतिपय साना-ठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको जनाएको हाे। साेमबार नुवाकोट र रसुवा भई बहने साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ। यी जिल्लामा आकस्मिक बाढीको उच्च सम्भावना रहेको महाशाखाले जनाएको हाे। गत बुधबार रसुवाकाे भोटेकोशी नदीमा आएको बाढीपश्चात् हाल भोटेकोशी र त्रिशूली नदीको बहाव शतर्कता तह भन्दा तल रहेता पनि उच्च शतर्कता अपनाउनुपर्ने देखिएकाे महाशाखाले जानकारी गराएकाे छ।
साेमबार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएकाे छ।
साेही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको हाे। सुनकोशी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती, महाकाली र कन्काई लगायत केही ठूला नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ्ने महाशाखाको पूर्वानुमान छ।
साेमबार बिहानको मापनानुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीका साथै यीनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको महाशाखाले जनाएकाे हाे।










प्रतिक्रिया दिनुहोस्